जुम्ला । जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग १ झ ५८८४ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि पातारासी–७ रिनीकी ४६ वर्षीया दन्दकली बोहोराको ज्यान गएको हो । दुर्घटनामा घाइते भइ उपचारको लागि ल्याइएकी बोहोराको बाटोमै ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मंगल रवालले जानकारी दिनुभयो ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर घाइते भएकाहरुको परिचय खुलेको छैन ।
प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी ३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी ३ महरी गाउँका ४९ वर्षका गोर्ख बुढा, पातारासी ३ माथि लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी ६ जम्नको ६ वर्षीय पुस्कर बिष्ट र पातारासी ७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् ।