काठमाण्डौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदै छ । आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।
मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ । आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुने छ ।
नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ ।
केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन ।


