नेपाली काँग्रेस सभापतिको लागि ६ जनाको उम्मेद्वारी दर्ताः सिंह र कोइराला फरक फरक प्यानलमा

कर्णालीदृष्टी संवाददाता २५ मंसिर २०७८, शनिबार १८:२९

काठमाण्डौ । काँग्रेस महाधिवेशनमा उम्मेद्वारी दिने क्रम सुरू भएको छ । सभापति पदको लागि काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेद्वारी दिनुभएको छ ।

देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई साथ दिनुभएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट महामन्त्रीमा पौडेललाई अघि सार्नुभएको हो ।

देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा,मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर रहेका छन् ।

यस्तै थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीउम्मेदवार बन्नुभएको छ ।

सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराउनुभएको हो । निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, सभापतिमा उम्मेद्वारी दिनुभएका कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।

यस्तै नेता प्रकाशमान सिंहको पनि सभापतिमा उम्मेद्वारी परेको छ । सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्मा रहनुभएको छ । यसैगरि गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सदस्य पदमा पनि आ आफ्नो प्यानलबाट नेताहरुले उम्मेद्वारी दिएका छन् । काँग्रेसमा पर्सि २७ गते मात्रै मतदान हुने छ । भोली भने उम्मेद्वारी फिर्ता लिने तथा दाबी बिरोधको लागि समय राखिएको छ । १४ पदाधिकारी सहित काँग्रेस महाधिवेशनले १ सय ६८ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।

जसका लागि देशभरका नेताहरू काठमाडौंमा जम्मा भएका छन् । प्रवक्ता शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए ।तर, त्यो पनि सम्भव नभएपछि उहाँ अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएको हो ।

Next Post

कांग्रेस महाधिवेशन :कुन पदमा कति उम्मेदवार ?

२५ मंसिर २०७८, शनिबार १८:२९
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ ।नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय सभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि यस सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी […]