एक दिनमै ३० शिक्षकले दिन्छन् राजीनामा

कर्णालीदृष्टी संवाददाता १ पुष २०७८, बिहीबार १७:४२

काठमाडौं । पछिल्ला केही दिनयता राजीनामा दिने शिक्षकको संख्या बढेको छ । हिजोआज दैनिक २५ देखि ३० जना शिक्षकको राजीनामा आएको राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयले जनाएको छ ।

कार्यालयमा दैनिक ४० देखि ५० निवेदन दर्ता हुने गरेकामा २५ देखि ३० वटा निवेदन शिक्षक राजीनामाको हुने गरेको राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले बताउनुभयो ।

उहाका अनुसार राजनीतिक दलसम्बन्धी ऐन र शिक्षा ऐन पालना गर्न गराउन निर्वाचन आयोगको निर्देशन र सर्वोच्च अदालतको आदेश आएपपछि राजीनामा गर्ने शिक्षकको संख्या बढेको हो ।

निर्वाचन आयोग र सर्वोच्चले कडाइ गर्न थालेपछि राजनीतिमा सक्रिय शिक्षकहरुले जागिर छोडेर राजनीतिक रोजिरहेको पाइन्छ’ उहाले भन्नुभयो । शिक्षासम्बन्धी ऐनले शिक्षकहरुलाई दलमा आवद्ध भई सक्रिय राजनीति गर्न रोक लगाएको छ ।

तर पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलको महाधिवेशन हुँदा धेरै शिक्षकहरु दलको विभिन्न तहको कार्यसमितिमा निर्वाचित हुनुका साथै र महाधिवेशन प्रतिनिधि बनेका थिए ।

शिक्षकहरु कांग्रेसको महाधिवेशन प्रतिनिधि भएको विषयलाई लिएर दायर भएको एक रिटमाथि सर्वोच्च अदालतले हालै शिक्षकहरुलाई दलको कार्यसमितिमा बस्न र महाधिवेशन प्रतिनिधि बन्न रोक लगाउने गरी अन्तरिम आदेश दिएको थियो ।

धेरै वर्ष अध्यापन गराइसकेका कतिपय शिक्षकले भने स्थानीय तहहरुले दिएको प्रोत्साहन भत्ताका कारण पनि जागीर छोडेका छन् । केही स्थानीय तहहरुले जागीर छोड्न चाहने शिक्षकहरुलाई ‘गोल्डेन ह्यान्ड सेक’ दिइरहेका छन् ।

शिक्षा विभागले दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भयले पनि कतिपय शिक्षकले राजीनामा दिएका खकुरेल बताउनुहुन्छ । दरबन्दी मिलान गर्दा आफ्नो पालिकाबाट अर्को पालिकामा अथवा अर्को जिल्लामा सरुवा डरले पनि जागीरबाट राजीनामा दिने क्रम बढेको उहाको भनाइ छ ।

‘पेन्सन भइसकेको जागिर छ । अर्को पालिका अथवा जिल्लामा गएर के दुख गर्नु भन्ने मानसिकताका कारण पनि राजीनामा दिएको पाइयो’ उहाले भन्नुभयो ।

यो वर्ष अनिवार्य अवकाश हुनुपर्ने शिक्षक संख्या करिब २७ सय रहेको छ । तर पछिल्लो ६ महिनामा नै अवकाश लिनेको संख्या २७ सय नाघेको महानिर्देशक खकुरेलले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो ‘यो वर्ष फरक ट्रेन्ड देखिएको छ । अन्य वर्षहरुमा भन्दा यो वर्ष राजीनामा दिने शिक्षकहरुको संख्या निकै बढेको छ ।’

कतिपय शिक्षकले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि अहिले नै राजीनामा दिएको हुन सक्ने कार्यालयका कर्मचारीहरु बताउँछन् । # Onlinekhabar.com

Next Post

कांग्रेस सहमहामन्त्रीमा डिना उपाध्याय, भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित

१ पुष २०७८, बिहीबार १७:४२
काठमाण्डौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार तीन वटा क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना सकिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महिला सहमहामन्त्री एक पदका लागि महालक्ष्मी उपाध्याय डिना निर्वाचित हुनुभएको छ । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाउनुभएको हो । […]