कर्णालीका ५ जिल्लामा अझैपनि अक्सिजन प्लान्ट जडान भएन

कर्णालीदृष्टी संवाददाता १४ पुष २०७८, बुधबार ०७:२२

सुर्खेत । कर्णाली प्रदेशका ५ जिल्लामा अझै अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र सल्यानमा अक्सिजन प्लान्ट जडान हुन नसकेको हो । कालीकोट, दैलेख र जाजरकोटमा प्लान्ट जडान भई सञ्चालनमा आएको छ भने राजधानी सुर्खेतमा प्लान्ट बने पनि सञ्चालनमा आइसकेको छैन ।

प्रदेश सरकारले प्रदेशका १० जिल्लामध्ये गत आर्थिक वर्षमा ८ जिल्लामा अक्सिजन मिनी प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला ४० लाख रुपैयाँका दरले ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमध्ये मुगु, डोल्पा, रुकुम पश्चिम र सल्यानमा खरिद गरिएका अक्सिजन प्लान्ट नभएर अक्सिजन सिस्टम जेनेरेटर भएको खुलेपछि जडानको काम रोकिएको हो । अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दासमेत परेको छ ।

जिल्ला अस्पताल डोल्पामा अक्सिजन सिलिन्डर नै खरिद गरी काम चलाइएको छ । डोल्पाका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक अमरसिंह शाहीले गत वर्षको बजेटले खरिद गरेको प्लान्टमा विवाद आएपछि पुनः प्रक्रिया नचालिएको बताउनुभयो  ।

अक्सिजन प्लान्ट खरिदका लागि चालु आवमा बजेट आएपछि मात्रै खरिद प्रक्रिया अघि बढ्ने उहाको भनाइ छ । मुगुमा एक गैरसरकारी संस्थाको सहयोगमा अक्सिजन प्लान्ट जडान हुन लागेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पर्शुराम अधिकारीले बताउनुभयो ।

उहाका अनुसार करिब १ करोड रुपैयाँ लगानीमा एक दिनमा ४० वटासम्म सिलिन्डर भर्न सकिने अक्सिजन प्लान्ट जडान हुन लागेको हो ।

हुम्लामा पनि अक्सिजन अभाव छ । गत वर्ष प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख रुपैयाँमा प्लान्ट खरिदका लागि कुनै कम्पनीले इच्छा देखाएनन । स्वास्थ्य कार्यालयका निमित्त व्यवस्थापक प्रेमबहादुर सिंहले ढुवानी र प्लान्ट जडानको लागि बजेट नपुग्ने भएपछि रकम फ्रिज भएको बताउनुभयो ।

‘२ पटक टेन्डर आह्वान गर्दा पनि कोही आएन,’ उहाले भन्नुभयो , ‘अहिले संघीय सरकारको बजेटबाट खरिद गरिएको मिनी प्लान्टले नै धानिरहेका छौं । यसबाट ५ वटा बेडमा मात्रै अक्सिजन पुग्छ ।’ चालु आवमा प्रदेश सरकारले १० लाख मात्र विनियोजन गरेको सिंहले बताउनुभयो ।

रुकुम पश्चिमको चौरजहारी अस्पतालमा प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालमा भने प्लान्ट स्थापनाको काम रोकिएको स्वास्थ्य कार्यालयका निमित्त व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताउनुभयो ।

खरिद प्रक्रियामा अनियमितता भएपछि प्लान्ट खरिदको काम रोकिएको हो । प्लान्टका लागि संघीय सरकारले ७५ लाख बजेट दिएको थियो भने प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँ फ्रिज भएको थियो ।

कालीकोटमा गत असोजदेखि प्रदेश सरकारले पठाएको बजेटबाट प्लान्ट जडान भई सञ्चालनमा आएको छ । निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारका अनुसार प्रतिदिन १० वटा सिलिन्डर भर्न सक्ने प्लान्ट जडान गरिएको हो ।

दैलेखमा पनि प्रतिदिन ४० सिलिन्डर भर्न सक्ने प्लान्ट गत भदौदेखि सञ्चालनमा आएको छ भने जाजरकोटमा मंसिरबाट प्लान्ट सञ्चालनमा छ ।

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाले प्लान्ट निर्माण गरे पनि सञ्चालनमा ल्याइएको छैन । उक्त प्लान्टले १ दिनमा १५० देखि १७० वटासम्म सिलिन्डर भर्न सक्नेछ । प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र चौधरी ग्रुपको लगानीमा उक्त प्लान्ट निर्माण गरिएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा २ वटा अक्सिजन प्लान्ट जडान भए पनि नयाँ भवनमा सञ्चालन भइरहेको अक्सिजन प्लान्ट ट्रान्सफर्मर पड्किएर अहिले बन्द रहेको प्रवक्ता डा. विकास केसीले बताउनुभयो । उहाका अनुसार पुरानो भवनमा जडित प्लान्टले अहिले काम गरिरहेको छ । अस्पतालमा नयाँ अक्सिजन प्लान्ट पनि निर्माणको प्रक्रियामा छ ।

जुम्लामा १५ दिनभित्र १ दिनमा १ सय सिलिन्डर भर्न सक्ने प्लान्ट आइपुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताउनुभयो  । उहाका अनुसार करिब २ करोड रुपैयाँ लगानीमा उक्त सिलिन्डर खरिद गरिएको हो । #कान्तीपूर

Next Post

भैरवीमा पहिलोपटक “स्थानीय खाना तथा रैथाने बालीको बिउबिजन” प्रदर्शनी मेला

१४ पुष २०७८, बुधबार ०७:२२
दैलेख । दैलेखको भैरवी गाउपालीका वडा नम्बर ७ कुसापानीमा पहिलो पटक स्थानीय खाना तथा रैथाने बिउबिजन प्रर्दशनी मेला सम्पन्न भएको छ । हातेमालो सामुदायीक विकास सस्था नारायण नगरपालीका १ दैलेखको आयोजना तथा उज्यालो साना किसान सहकारी सस्था भैरवीको समन्वयमा सोमबार उक्त प्रर्दशनी मेला सम्पन्न भएको हो । पछिल्लो समय लोप […]