- सुर्खेत । सुर्खेतमा ११ हजारभन्दा बढी मतदाता थपिएका छन । पछिल्लो पटक संकलन गरिएको मतदाता नामावली अनुसार सुर्खेतमा ११ हजार चारसय १४ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
जसमध्ये पाँच हजार दुईसय ७७ जना महिला र पाँच हजार एकसय ३७ जना पुरुष मतदाता थपिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।
योसँगै सुर्खेतमा मतदाताको संख्या दुई लाख १४ हजार चारसय १४ जना पुगेको छ । अघिल्लो निर्वाचनमा सुर्खेतमा दुई लाख तीन हजार मतदाता थिए । आगामी निर्वाचनको तयारी स्वरुप निर्वाचन कार्यालयले गएको मंसिर १७ गतेदेखि यही पुस १८ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन थालेको थियो ।
कार्यालयले पहिलो चरणमा सुर्खेतको सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका, चौकुने गाँउपालिका, लेकबेशी नगरपालिका र दोस्रो चरणमा गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र बराहतालमा गाउँपालिकामा पुगेर फोटोसहितको मतदाता नामावली संकलन गरेको हो ।
मतदाता नामावली संकलन अभियानका क्रममा भेरीगंगा नगरपालिकामा सबैभन्दा धेरै र चिङ्गाडमा सबैभन्दा कम मतदाता थपिएका छन् ।