हुम्ला । हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्ष ०८२/०८३ मा साढे २२ मेट्रिक टन मह उत्पादन भई साढे चार करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जिल्लामा कुल २२ हजार पाँच सय केजी मह उत्पादन भएकोमा अधिकांश मह बिक्री भइसकेको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ । कृषि विकास कार्यालय हुम्लाका प्रमुख चूडामणि पन्तका अनुसार जिल्लाभरका किसानहरूले यस वर्ष २,७७५ मौरीका घारबाट २२ हजार पाँच सय केजी मह उत्पादन गरेका हुन् । प्रतिकेजी महको औसत मूल्य दुई हजार रुपैयाँ कायम हुँदा किसानहरूले करिब चार करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । उहाँका अनुसार यस वर्ष गत आर्थिक वर्षको तुलनामा मह उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।
उत्पादन भएको मह अधिकांश किसानहरूले बिक्री गर्न सफल भएका छन् । हुम्लामा उत्पादन भएको मह मुख्यतः सुर्खेत, नेपालगञ्ज, पोखरा तथा काठमाडौँजस्ता बजारमा पुगेको छ । जिल्लाका सातै वटा गाउँपालिकामा मह उत्पादन हुने भए पनि चंखेली, सर्केगाड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा बढी मात्रामा तथा गुणस्तरीय मह उत्पादन हुने गरेको किसानहरूको भनाइ छ । स्थानीय मह व्यापारी गोर्ख बोहराले यस वर्ष मात्र करिब १० लाख रुपैयाँ बराबरको मह बिक्री गर्न सफल भएको बताउनुभयो । गत वर्ष आफूले चार लाख रुपैयाँ बराबरको मह बिक्री गरेको उल्लेख गर्दै उहाँले महको माग बढ्दै गएको बताउनुभयो ।
परम्परागत रूपमा दुई–चार घारबाट मौरीपालन गर्दै आएका किसानहरू क्रमशः व्यावसायिक मौरीपालनतर्फ आकर्षित हुन थालेका छन् । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार हाल केही किसानहरूले ५० वटासम्म मौरीका घार व्यवस्थापन गर्न थालेका छन् । किसानहरूमा मह उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढ्दै गएको कार्यालयको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा २२ दशमलव पाँच मेट्रिक टन मह उत्पादन भएको थियो ।



