काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएरातिदेखि लागू हुने गरि साबिकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।
अब पेट्रोल लिटरको १४२ रुपैयाँ, डिजल÷मट्टितेल १ सय २५ रुपैयाँ तिर्नुपर्नेछ । यो अहिलेसम्म कै महङ्गो हो । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोल लिटरको १ सय ४० रुपैयाँसम्म पुगेको थियो ।
यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएर लिटरको ११६ रुपैयाँ तोकिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले बढेर प्रतिकिलोलिटर बिक्री मूल्य १ हजार ९५ डलर कायम भएको छ ।
एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन । मूल्य बढाएपनि मासिक साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब दुई अर्ब २३ करोड घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार मूल्य बढेपनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा एक अर्ब एक करोड र एलपी ग्यासमा करिब एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।