सल्यान । बाग्चौर नगरपालिकाको थारमारे र छत्रेश्वरी गाउँपालिका ४ लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १४ वर्षभन्दा बढी भयो । विशेषज्ञ सेवा संचालनका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दीसमेत रहेको छ ।
डाक्टरको दरबन्दी भए पनि जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्र अहेबको भरमा सिमित रहेका छन् । दरबन्दी अनुसार डाक्टर आउन नचाहने र आएका पनि धेरै नबसी अध्ययन बिदामा जाने गरेका कारण प्राथमिक स्वास्थ्य केन्द्र अहेबको भरमा सिमित रहेका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र अहेबको भरमा सिमित रहेपछि स्थानीयहरू डाक्टर सहितको विशेषज्ञ सेवाबाट बञ्चित हुँदैआएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र अहिले अहेबको भरमा रहेकाले जिल्लाका दुई पालिकाका स्थानीय सामान्य उपचार बाहेक अन्य उपचारका लागि निजी क्लिनिक तथा जिल्ला अस्पताल धाउन बाध्य छन् ।
डाक्टरहरू अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र थारमारे नौ महिनादेखि र लेखपोखराको स्वास्थ्य केन्द्र झन्डै तीन वर्षदेखि डाक्टर विहीन रहेका छन् ।
गाउँघरमै बिरामीले डाक्टरबाट स्वास्थ्य सेवा पाउन भनी २०६२ मा बाग्चौर नगरपालिकाको थारमारे र २०६४ मा छत्रेश्वरी गाउँपालिका ४ लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो ।
बाग्चौर नगरपालिकाभित्र पर्ने बाफुखोला, कोटबेद, थारमारे, शिवरथ, कोटबारा, कोटमौला, पिपलनेटाका स्थानीयलाई सहज होस् भनेर प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि आएका डाक्टर छोटो समय बसेर फर्कने गरेकाले स्वास्थ्य सेवाका लागि स्थानीयहरू अन्य निजी क्लिनिकमा धाउनु परेको कोटबेदका स्थानीय देबबहादुर खत्रीले गुनासो गर्नुभयो ।
स्थानीय निर्मला बुढाले भने डाक्टर नभएकै कारण शारिरीक समस्या देखिँदा पनि प्राथमिक स्वास्थ्य केन्द्र जानै छाडेको बताउनुभयो । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा अहेबको भरमा जाँच गराउनु पर्छ । न त राम्रो सल्लाह पाइन्छ । न गतिलो औषधि नै’ बुढाले भन्नुभयो , ‘निजी क्लिनिक जानुपर्ने बाध्यता छ ।’
यसवाहेक प्राथमिक स्वास्थ्य केन्द्रका लागि किनिएको एक्सरे मेसिन समेत लामो समयदेखि जडान हुन नसकेको छत्रेश्वरी गाउँपालिका ४ लेखपोखराका बलबहादुर पुन बताउनुहुन्छ ।
प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा छत्रेश्वरी गाउँपालिका ४ का वडाध्यक्ष समेत रहेका लिलाधर घर्तीले डाक्टर तथा स्वास्थ्यकर्मीको अभावकै कारण प्राथमिक स्वास्थ्य केन्द्रले सोचे अनुसार डाक्टर सहितको सेवा उपलब्ध गराउन नसकेको स्वीकार गर्नुभयो ।
डाक्टर दरबन्दीको लागि मन्त्रालय तथा विभागमा बारम्बार आग्रह गर्दै आए पनि कोही आउन नचाहेको उहाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित ल्याव सेवा प्रभावकारी हुन नसकेपछि स्थानीयले विभिन्न समस्या भोग्दैआएको उहाले बताउनुभयो । कान्तीपूरबाट


