दाउरा नपाइने मुगुको तिर्पमा नगरपालिकद्धारा ग्यास र चुल्हो वितरण

कर्णालीदृष्टी संवाददाता ९ फाल्गुन २०७८, सोमबार ०८:१६

मुगू  । मुगूको छायाँनाथ रारा नगरपालिकाले दाउरा अभाव हुने गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरेको छ । छायाँनाथ रारा नगरपालिका गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत आइतबार दाउरा नपाउने छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ को तिर्प गाउँका ७६ घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको हो ।

दाउराको साह्रै समस्या हुने उक्त गाउँमा एक घर एक ग्यास चुलो सहयोग गरेको नगर प्रमुख हरिजंग शाहीले बताउनुभयो ।  ग्यास चुलो खरिदका लागि नगरपालिकाले करिब ७ लाख रूपैयाँ खर्च गरेको जनाइएको छ। अन्नभन्दा दाउराको चिन्ताले सधैँ पिरोलिने तिर्प गाउँका नागरिक ग्यास चुलो पाएपछि खुशी भएका छन ।

दाउरा खोज्दा दिनभरी नै लाग्ने हुदा बालबच्चाको बिचल्ली हुने गरेको तिर्प गाउँमा ग्यास चुलो सहयोग पाएपछि त्यो समस्याबाट त्यहाँका महिलाले मुक्ति पाएको स्थानीय औशी मल्लले बताउनुभयो ।

यस्तै आफ्नो वन नभएकाले दाउराका लागि छिमेकीको वनमा जाने गरेको बताउदै स्थानीय चाउली मल्लले ‘एक भारी दाउरा ल्याउन दुई दिन लगाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । अर्की स्थानीय बिस्नु एैडीका अनुसार आफ्नो वन नभएको र दाउरा ल्याउन छिमेकीको वनमा जाने गरेको भन्दै धुँवारहित ग्यास चुलो पाउँदा गाउँका सबै हर्षित भएको बताउनुभयो ।

दुई वर्षअघि घरदैलो अभियानअन्तर्गत तिर्प गाउँमा जाँदा त्यस क्षेत्रका नागरिकले आफूहरूको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जनगुनासो गरेपछि स्थानीयलाई सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति दिलाउन र दाउरा खोज्दै दिन बर्वाद गर्न नपरोस्, स्वास्थ्य स्थितिमा सुधार आओस्, बालबालिकाको बिचल्ली नहोस् भनेर दाउरा नपाइने तिर्पका ७६ घरधुरी स्थानीयलाई एक घर एक ग्यास चुलो वितरण गरेको नगर प्रमुख शाहीले बताउनुभयो ।

नागरिकका समस्या समाधान गर्नतर्फ लागेको बताउँदै नगर प्रमुख शाहीले भने क्रमिक रूपमा समस्या समाधान गर्नेतर्फ लागीपरेको र यस्ता कार्यक्रम अन्य गाउँमा पनि लागू गर्ने बताउनुभयो ।

गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत गाउँगाउँ पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताबारे नागरिकका समस्याबारे जानकारी लिने, अनुगमन गर्ने, स्थानीयका गुनासो र सुझाव लिइरहेको र समस्या समाधान गर्न लागिपरेको नगरप्रमुख शाहीको भनाइ छ।

गत वर्ष पनि दाउरा नपाउने लह र लापु गाउँका ५७ घरधुरीलाई नगरपालिकाले एक घर एक ग्यास चुलो वितरण गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ।यसैबीच नगरपालिकाले कुटानी पिसानीमा समस्या भोग्दै आएका वडा नं १३ का रुगा र थार्प गाउँका समुदायलार्ई कुटानी पिसानी मिल सहयोग गरेको छ। #थाहाखबर

Next Post

एमसीसीबारे दोहोरो चरित्र प्रदर्शन नगर्न दलहरुलाई दबाब

९ फाल्गुन २०७८, सोमबार ०८:१६
काठमाण्डाै – नेकपा माओवादी र एकीकृत समाजवादीसँगको सहमतिमै सरकारले संसदमा एमसीसी टेबल गरे पनि दुवै दलले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । हिजो संसदमा एमसीसी टेबल भइरहँदा दुवै दलका एकथरी सांसदले उठेर विरोध गरे भने अर्काथरीले बसेर समर्थन गरे । दुवै दलका शीर्ष नेताहरूले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय […]