गठबन्धन र एमसीसी सम्झौता जोगाउन सत्ता साझेदार सहमति नजिक, औपचारिक निर्णय गर्न छलफलमा जुट्दै

कर्णालीदृष्टी संवाददाता १५ फाल्गुन २०७८, आईतवार ०८:४६

काठमाण्डाै – सत्तारुढ दल गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउन सहमति नजिक पुगेका छन् । एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न उनीहरु सहमत भएका छन् ।

गएराति अबेरसम्म भएको छलफलमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका हुन् ।

एमसीसी सम्झौतासम्बन्धी प्रस्तावसँगै पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्ने नेताहरुको दाबी छ ।

पूरक प्रस्तावमा एमसीसी सहयोग विकास अनुदान हो । यो हिन्द प्रशान्त रणनीति तथा अन्य सैन्य सङ्गठनको अङ्ग होइन । कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुनेछ भनेर स्पष्ट घोषणा गरिने उल्लेख गर्ने तयारी छ ।

यस विषयमा औपचारिक सहमति बनाउन दुवै दल आन्तरिक छलफलमा जुट्दै छन् । अहिले बिहान माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दैछ ।

यस्तै, एकीकृत समाजवादीको पनि स्थायी कमिटी बैठक बस्दैछ । एमसीसीबारे औपचारिक निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  बिहान ९ बजे गठबन्धनको बैठक बोलाउनु भएको छ ।

९ बजेअघि नै पार्टी भित्र सहमति जुटाउन दुई दल जुट्न लागेका हुन् । आज कुनै नाटकीय मोड नआएमा एमसीसी सम्झौताबारे सत्ता गठबन्धन भित्र सहमति हुने सम्भावना छ ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभएमा गठबन्धन टुट्न सक्ने छ र एमालेसँग सहकार्य हुनसक्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

यसका लागि प्रधानमन्त्री देउवाका नजिकका नेताहरुले एमाले नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने सम्भावना छ ।

सत्ता गठबन्धन दलहरुबीच औपचारिक सहमति बनेमा आजकै बैठकमा पारित गर्ने र त्यसपछि दफावार छलफल गरेर सके तत्कालै नसके भोलि अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ । संसद् बैठक दिउँसो १ बजे बस्दैछ।

Next Post

अभिनेता पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

१५ फाल्गुन २०७८, आईतवार ०८:४६
चितवन – नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध आज आइतवार बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो । गैँडाकोट–५ मा रहेको गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले […]

सम्बन्धित समाचार