स्वरोजगार बनाउन महाबूका युवालाई सीपमूलक तालिम

खगेन्द्र राना मगर २६ फाल्गुन २०७८, बिहीबार १८:४९

दैलेख । दैलेखको महाबू गाउँपालिकाले विपन्न युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले यहाँका ८५ जना युवाहरूलाई सीपमूलक तालिम प्रदान गरेको छ ।

विपन्न, गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत युवाहरूलाई छनोट गरी सीपमूलक तालिम प्रदान गरिएको महाबू गाउँपालिका उद्योग विकास शाखा प्रमुख सुनमायाँ सुनारले जानकारी दिनुभयो ।

नेपाल सरकारको गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत गाउँपालिकाका छवटै वडामा बसोवास गर्ने युवाहरूलाई तालिम प्रदान गरिएको उहाले बताउनुभयो ।

उहाका अनुसार पालिकाभित्रका वडा नम्बर १, ३, ४ र ५ का युवाहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिसकिएको छ भने वडा नम्बर २ र ६ का युवाहरूलाई पनि लगत्तै (आगामी हप्तादेखि) नै तालिम सञ्चालन गर्न लागिएको छ । युवाहरूलाई छोटो अवधिको तालिम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालिम प्रदान गरिएको उहाको भनाइ छ ।

कार्यक्रमअन्तर्गत पालिकाका १६ देखि ४० वर्ष उमेरसमूहका युवाहरूलाई फरक–फरक सीप विकास तालिम प्रदान गरिएको हो । चालू आर्थिक वर्ष २०७८÷७९ मा पालिकाको वडा नम्बर १ मा १९ जना युवाहरूलाई एकमहिने आधारभूत मोटर ड्राइभिङ तालिम प्रदान गरिएको छ ।

यस्तै वडा नम्बर ४ मा १० जना महिलाहरूलाई हाते होजियारी तालिम प्रदान गरिएको छ भने वडा नम्बर ३ का १८ जना महिलाहरूलाई बेमौसमी तरकारी सीप विकास तालिम प्रदान गरिएको छ । वडा नम्बर ५ का १० जना युवाहरूलाई तीन सय ९० घण्टे हाउस वायरिङ तालिम प्रदान गरिएको उहाले जानकारी दिनुभयो ।

सीपमूलक तालिमअन्तर्गत वडा नम्बर २ मा १४ जना महिलाहरूलाई दुनाटपरी बनाउन र वडा नम्बर ६ मा १५ जना महिलाहरूलाई तीन सय ९० घण्टे सिलाइकटाइ तालिम केही दिनभित्रमा नै सञ्चालन गर्न लागिएको उद्योग विकास शाखाप्रमुख सुनारले बताउनुभयो ।

उहाका अनुसार तालिम प्राप्त गरेका युवाहरूले सिकेका सीप व्यवहारमा पनि लागू गर्न थालेका छन । अझै पनि सयौँ युवा रोजगारीको खोजीका लागि भारतलगायत विभिन्न मुलुकमा जाने क्रम रोकिएको छैन । आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढाले बउनुभयो ।

समयको मागअनुसार तालिम सञ्चालन गरी सीपयुक्त जनशक्ति तयार गर्नु पालिकाको मुख्य उद्देश्य रहेको उपाध्यक्ष बुढाको भनाइ छ । सीप सिकेका युवाहरूलार्ई गाउँपालिकाले व्यवसाय सञ्चालमा सहयोग गर्ने र थप तालिम, सीप र उत्पादित सामग्रीको बजारीकरणमा पहल गर्ने समेत गर्ने उपाध्यक्ष बुढाले बताउनुभयो ।

सीपमूलक तालिममा सहभागी युवाहरूले सीप सिकेर बेरोजगार बस्नु नपर्ने तथा सिकेको सीपको सदुपयोग गरी आत्मनिर्भर बन्न प्रेरणा मिलेको बताएका छन । पालिकाले चालू आवमा ८५ जना नयाँ उद्यमी तयार गर्ने लक्ष्य लिएको छ । जसमध्ये ६० जना तयार भइसकेको र बाँकीलाई तालिम प्रदान गर्न लागिएको पालिकाले जनाएको छ ।

स्तरवृद्धि र प्रविधि हस्तान्तरण : यस्तै गाउँपालिकाले गत आर्थिक वर्षमा तालिम दिएका युवाहरूको स्तरवृद्धिका लागि छोटो अवधिको थप तालिम पनि प्रदान गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा तालिम प्राप्त गरेर व्यवसायमा लागेका युवाहरूलाई सीप विकास र आयआर्जनमा थप टेवा पुगोस् भन्ने उद्देश्यले थप मात्रामा तालिम प्रदान गरिएको बताईएको छ ।

स्तरवृद्धिअन्तर्गत वडा नम्बर ३ का १० जनालाई एकमहिने सिलाइकटाइ तालिमसँगै आइरन मेसिन उपलब्ध गराइएको थियो । यस्तै वडा नम्बर १ मा पाँचदिने तरकारी सीप विकास तालिमसँगै १० जनालाई पानी भर्ने ड्रम र सिँचाइ गर्ने हजारी उपलब्ध गराइएको छ ।
पालिकाका अनुसार नम्बर ४ का १५ जना युवाहरूलाई स्तरउन्नतिका लागि थप १८ दिने मोटर ड्राइभिङ तालिम पनि प्रदान गरिएको छ ।

यस्तै गाउँपालिका र उद्योग तथा उपभोक्ता संरक्षण कार्यालय दैलेखको सहकार्यमा पालिकाभित्रका १० जना पुरुषहरूलाई कोट पाइन्ट सिलाइकटाइसम्बन्धी तालिम प्रदान गरिनुका साथै १० जनालाई होमस्टे व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

Next Post

देश जोगाउने पार्टी भनेकै माओवादी हो : प्रचण्ड

२६ फाल्गुन २०७८, बिहीबार १८:४९
सुर्खेत – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताउनुभएको छ । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले बेला–बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादी सचेत भएको […]