एमसिसी सम्झौता संसद्बाट अनुमोदन

कर्णालीदृष्टी संवाददाता १६ फाल्गुन २०७८, सोमबार ०६:३९

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्बाट अनुमोदन भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो ।

प्रतिनिधिसभाको आईतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गर्नुभएको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू ले एमसिसीको पक्षमा ध्वनि मत प्रकट गरे। राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने घेराउमै थियो ।

एमसिसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा देखिएको विवाद चिर्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेका थिए ।

प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ ।

Next Post

यस्ता छन् एमसीसीमार्फत कार्यान्वयन हुने परियोजना

१६ फाल्गुन २०७८, सोमबार ०६:३९
काठमाण्डाै – लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै अब कार्यान्वयन हुनेछ । एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ । यो रकमबाट बन्ने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । […]