आज अन्तर्राष्ट्रिय नारी दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

कर्णालीदृष्टी संवाददाता २४ फाल्गुन २०७८, मंगलवार ०८:२४

दैलेख । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।

नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पछि अहिले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि चुनावमा थप आरक्षणको व्यवस्था गरिएको छ ।

महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ ।

सङ्ख्यात्मक रूपमा नेतृत्व तहमा पुग्ने महिला कम भए पनि विकास निर्माणसँगै सामाजिक विकृति रोक्न र महिलाका पक्षमा उनीहरूले उदाहरणीय काम गरेका छन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्व छ ।

नेतृत्वमा पुगेकाहरु काममा प्रतिबद्ध छन् भने उनीहरू सुशासनमा पनि अब्बल देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जनप्रतिनिधिको साढे चार वर्षको कार्यकालमा भ्रष्टाचार र अनियमितताका घटनामा महिला जनप्रतिनिधिको संलग्नता शून्य छ ।

२० हजार जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी परेका छन् भने ३९ जनाविरुद्ध त भ्रष्टाचार तथा अनियमितताको मुद्दा नै चलाइएको छ । तर, त्यसमा एकजना पनि महिला परेका छैनन् । महिला प्रमुख भएका स्थानीय तह मितव्ययी पनि देखिएका छन् ।

यसैबीच, दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिँदै महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद रोक्न प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा दैलेखमा पनि बिबीध कार्यक्रम

हरेक वर्ष मार्च ८ तारिकका दिन मनाइने अन्तरराष्ट्रिय महिला दिवस यो वर्ष ११२ औं वाषिकोत्सवको कार्यक्रम दैलेख सदरमुकाममा विविध कार्यका साथ मनाउने तयारी भएको छ ।

नारायण नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक रावलको अध्यक्षतामा बसेको पूर्वतयारी बैठकले उक्त निर्णय गरेको हो ।

मूल समिति दैलेखको निर्णय अनुसार भोलि फागुन २४ गते तदानुसार सन् २०२२ मार्च ८ तारिकका दिन मनाइने अन्तरराष्ट्रिय महिला दिवस सो दिन विहान ११ बजे गणेशचोकबाट ¥याली सहित नगर परिक्रमा सकेर टुडिखेल खुला मञ्चमा आयोजना गरिने छ ।

कार्यक्रममा बाल कलाकारहरुको नृत्य, बालविवाह रोकथाम सम्वन्धी सडक नाटक लगायतका साँस्कृतिक कार्यक्रम राखिएको बताइएको छ ।यस बर्ष सामाजिक न्याय र लैंङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित दिवस मनाईदैछ ।

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिइएको शुभकामना सन्देशमा उहाले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

सबै खाले हिंसा रोकथाम गर्न सहकार्य जरुरी : मेयर खड्का

नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले महिला माथि हुने सबै खाले हिंसा रोकथामका लागि सरकारी र गैरसरकारी सबै क्षेत्रको सहकार्यता जरुरी रहेको बताउनुभएको छ ।

११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सुन्दर नेपाल संस्थाले आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि सरोकारवालाहरुवीच सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।

अधिकारकर्मीहरुले स्थानीय सरकारका कामलाई कमीकमजोरी मात्रै खोतल्ने र सबै कामलाई नकारात्मक सन्देश प्रवाह गर्ने गरेको गुनासो समेत गर्नुभएको छ ।

सरकारी निकायले गरेको राम्रा कामहरुको ‘यो चाहिं राम्रो भयो’ भनेर प्रचार गरे भएका कमजोरी औल्याउनु पनि स्वभाविक मान्न सकिन्थ्यो नगर प्रमुख खड्काले भन्नुभयो ।

इन्सेकको मानव अधिकार रक्षक सञ्जालका जिल्ला सहसंयोजक लीला खत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष महारुप खत्री, सामाजिक सेवा केन्द्र (सोसेक)का रमा श्रेष्ठ लगायतले लैंगिक हिंसा रोकथाममा सरोकारवालावीच सहकार्यता विषयमा आआफ्नो धारणा राखेका थिए ।

Next Post

एमाले दैलेखको अधिबेशन चैत्र १ र २ गते हुने

२४ फाल्गुन २०७८, मंगलवार ०८:२४
दैलेख । खसेको भन्दा बढी मत भेटीएपछि मतगणनाको चरणमा पूगेर स्थगीत भएको नेकपा एमाले दैलेखको सातौ जिल्ला अधिबेशन आउदो चैत्र महिनाको पहिलो साता हुने भएको छ । यसअघी गत पुस २३ गते उद्घाटन गरिएको अधिवेशन मतदाता सङ्ख्या भन्दा बढी मत भेटीएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको थियो । कुल मतदाता सङ्ख्या […]