नागरिकता विधेयक टुङ्ग्याउन गृहले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

कर्णालीदृष्टी संवाददाता २६ फाल्गुन २०७८, बिहीबार ०७:५२

काठमाण्डौ – गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ ।

बुधवार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाणले नागरिकता विधेयकलाई अघि बढाउने र टुङ्ग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूलाई सहयोग लिने बताउनुभयो ।

नागरिकताको विषय धेरै संवेदनशील र दुरगामी असर गर्ने भएकोले राजनीतिक रूपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले यसबारेमा पार्टीका शीर्षस्थ नेताहरू र पार्टी अध्यक्षहरूलाई जानकारी गराइने पनि उल्लेख गर्नुभयो ।

मन्त्री खाणले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अङ्गीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताउनुभयो ।

उहाँले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुङ्ग्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री बडूले धेरै समय नागरिकहरूलाई नागरिकताविहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नागरिकता विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।

Next Post

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

२६ फाल्गुन २०७८, बिहीबार ०७:५२
काठमाण्डौ – पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले […]