सर्वदलीय सहमतिमै तलब–सुविधा बढाइएको हो: मुख्यमन्त्री शाही

कर्णालीदृष्टी संवाददाता ७ बैशाख २०७९, बुधबार १७:५८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज(बुधबार) आयोजित पत्रकार भेटघाटमा उहाँले प्रदेश पदाधिकारीहरूको तलब सुविधा बढाउनु बाध्यता भएको दाबी गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यहरूको मर्यादाक्रमअनुसार पारिश्रमिक नभएको गुनासो प्रदेशसभामै उठेपछि सर्वदलीय सहमतिका आधारमा सरकारले मन्त्रिपरिषद्बाट सुविधा हेरफेरसम्बन्धी निर्णय गरेको जानकारी दिनुभयो । अनुचित समयमा कर्णाली सरकारले मन्त्री र सांसदहरूको तलब बढाएको भन्दै आलोचना भएको थियो ।

मुख्यमन्त्री शाहीले केही सुविधा बढे पनि सातवटै प्रदेशमा सबैभन्दा कम सेवा सुविधा पाउने कर्णाली प्रदेशकै पदाधिकारी रहेको प्रष्ट पार्नुभयो । प्रदेश सरकारले एक महिनाअघि मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभाका पदाधिकारीहरूको पारिश्रमिक तथा सेवा–सुविधा बढाएको थियो ।

पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले प्रदेशको पञ्चवर्षीय योजना तयार भइसकेकाले प्रदेश योजना आयोग पदाधिकारीविहीन हुँदैमा बजेट निर्माणमा असर नपर्ने बताउनुभयो । साथै उहाँले प्रदेशको औसत खर्च २१.८० प्रतिशत रहेको र तीमध्ये चालूतर्फ २७ तथा पुँजीगततर्फ १७ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

थुप्रै आयोजना निर्माणाधीन अवस्थामा रहेकाले वर्षान्तमा यो बढ्ने उहाँको भनाइ छ । यो अवधिमा रु. ३६ करोड ४४ लाख राजस्व सङ्कलन भएको जनाइएको छ । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले खेलकुद परिषद्का सदस्यसचिव हटाउने कुनै तयारी नगरेको र गलत सूचना फैलाइएको आपत्ति प्रकट गर्नुभयो ।

Next Post

दैलेखका ४६ मतदानस्थल अति संवेदनशील

७ बैशाख २०७९, बुधबार १७:५८
दैलेख । जिल्ला सुरक्षा समितिले दैलेखका ४६ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको जनाएको छ । मतदान स्थलको स्थलगत निरीक्षणपछि जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका दृष्टिले अतिसंवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो । जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले १३६ मतदान स्थलमध्ये ४६ अतिसंवेदनशील, ५५ […]