काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएर चुनाव चिह्न पाएका १३ दलबाट एक जनाको पनि उम्मेदवारी नपरेको पाइएको छ । आयोगले भने ती दलको समेत चुनाव चिह्न छापेर जिल्ला पठाइसकेको छ ।
आयोगले शुक्रबार दलगत रूपमा सार्वजनिक गरेको उम्मेदवारको विवरणअनुसार रवीन्द्रप्रसाद सिंह अध्यक्ष रहेको वैज्ञानिक समाजवादी पार्टी (रकेट चिह्न), कुमार राई अध्यक्ष रहेको सामाजिक लोकतान्त्रिक पार्टी, भरतमणि दाहाल अध्यक्ष रहेको त्रिमूल नेपाल (गजुर), रामबहादुर गुरुङ (रञ्जित) अध्यक्ष रहेको माओवादी जनमुक्ति पार्टी (कुचो), धनेन्द्रबहादुर बस्नेत अध्यक्ष रहेको मितेरी पार्टी (घोडा) बाट उम्मेदवारी परेको छैन ।
यस्तै, निलु कुमारी अध्यक्ष रहेको राष्ट्रिय विकास पार्टी (हात्ती), किरणकुमार शर्मा पौडेल अध्यक्ष रहेको नेपालवाद (तारापुञ्ज), कौशलकुमार सिंह अध्यक्ष रहेको लोक दल (लुगा सिउने कल), रोमलाल गिरी अध्यक्ष रहेको नेपाल आमा (बच्चा काखमा लिएकी आमा), दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक (खुलेको एक आँखा), ज्ञानसेर राई अध्यक्ष रहेको संघीय खम्बुवान लोकतान्त्रिक पार्टी (हवाईजहाज), हुकुमबहादुर लामा अध्यक्ष रहेको नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक (डोको), गंगालाल श्रेष्ठ अध्यक्ष रहेको नेपाल नौलो जनवादी पार्टी (चिठी बोकेर उड्न लागेको परेवा) बाट पनि कुनै उम्मेदवारी परेको छैन ।
‘कुन जिल्लामा संगठन छ ? कुन–कुन जिल्लामा उम्मेदवारी दिनुहुन्छ ? भनेर विवरण मागेका थियौं । दलहरूकै विवरणअनुसार मतपत्र छापेर जिल्लामा पठाइसक्यौं,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘उल्लासका साथ आउनुभएका दलका प्रतिनिधिहरूले उम्मेदवारी नै दिएको देखिएन ।’
ऐनमा राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै चिह्न पाउने र अन्य दलले स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनुपर्ने प्रावधान छ । यो प्रावधानमा साना दलले विरोध जनाएका थिए । आयोगले साना दलको माग सम्बोधन गर्न जिल्लामा दलकै चिह्नबाट निर्वाचनमा भाग लिन सक्ने विशेष निर्णयसमेत गरेको थियो ।
‘आयोगले सदाशयता देखाएर कानुनको सकारात्मक व्याख्या गरी चुनाव चिह्न प्रदान गरी मतपत्र छपाइ गरेको हो,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘अहिले दलहरूले उम्मेदवारी दिएको पाइएन ।’ एक जना मात्रै उम्मेदवार उठाउने २ वटा पार्टी छन ।
देशभक्त र इतिहासिकले नगर प्रमुख पदमा एक÷एक जना मात्रै उम्मेदवारी दिएका छन । दुई जना मात्रै उम्मेदवार उठाउने चार वटा पार्टी रहेका छन । प्रजातान्त्रिक पार्टी नेपाल, साझा पार्टी नेपाल, माओवादी कम्युनिस्ट पार्टी नेपाल र राष्ट्रिय यथार्थवादी पार्टीबाट चार उम्मेदवारी परेको छ ।
समाजवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, आधुनिक नेपाल समाजवादले ३ जना मात्रै उम्मेदवार उठाएका छन । नेपाः राष्ट्रिय पार्टी र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादीले ५÷५ जना उम्मेदवार उठाएका छन ।
१५ वटा दलले १ देखि ९ जनासम्म उम्मेदवारी उठाएका छन् भने एक सयभन्दा कम उम्मेदवार उठाउने दल ३८ वटा छन । १० हजारभन्दा बढी उम्मेदवार उठाउनेमा ५ वटा पार्टी छन । एमालेले ३३ हजार ५ सय तीन जना, कांग्रेसले ३१ हजार ४ सय २५, माओवादीले २२ हजार २ सय ७९ जनालाई चुनावी मैदानमा उतारेका छन । नेकपा एकीकृत समाजवादीले ११ हजार ३ सय ३०, राप्रपाले १२ हजार ७ सय ५२ जना उम्मेदवार उठाएका छन । १२ हजार ७ सय ८९ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ताअघि नै मतपत्र छापिएकाले उम्मेदवारको संख्या बढेका कारण केही पालिकाको मतपत्र फेरि छाप्नुपर्ने हुन सक्ने आयोगले जनाएको छ । ‘कुन पालिकामा थप छाप्नुपर्ने हो, हेर्दै छौं,’ आयोगका एक अधिकारीले भने । राष्ट्रिय मान्यता प्राप्त दल र अन्य दलको निर्वाचन चिह्न राखेर आयोगले मतपत्र छपाइ गरेको थियो । अघिल्लो निर्वाचनमा परेको स्वतन्त्र उम्मेदवारको संख्याको आधारमा थपघट गरी स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मतपत्रमा राखिएको थियो । ‘आयोगले स्वतन्त्रका लागि छुट्याएको निर्वाचन चिह्नभन्दा बढी उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिँदा पनि मतपत्रमा चिह्न पुगेन भने फेरि छाप्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने । #कान्तीपुरबाट


