सुर्खेत । गत फागुन २७ मा इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गर्नुभएको छ । शुक्रबार सभामुख राजबहादुर शाही समक्ष उहाले सनाखत गर्नुभएको हो ।
विष्टले काठमाडौंमा नै पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो । संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।
उक्त उपधारामा निजले प्रदेशसभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ । यद्यपि, बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलले भने विष्टलाई राजीनामा फिर्ता लिई नियमित कामकाजमा फर्कन तीनदिने अल्टिमेटम दिएको थियो ।


