कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्दै पुस १३ गते सोमबार प्रदर्शन गर्ने

चक्र प्रसाद पोख्रेल १० पुष २०७७, शुक्रबार ०९:२७

 


काठमाडौं :कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्दै पुस १३ गते सोमबार प्रदर्शन गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको हो।

बिहीबार बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले तत्काल विरोधका कार्यक्रम ल्याउन नेतृत्वलाई दबाब दिने निर्णय गरेको थियो। मंगलबारदेखि दिनहुँ बैठक बसिरहे पनि विरोधका कार्यक्रम गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा दुई धार देखिएको थियो।

बिहीबारको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारको कदमविरुद्ध सडक संघर्षमा जान ढिलाइ गरेकोमा नेतृत्वको आलोचना गरेका थिए । ‘सरकारको कदमविरुद्ध तत्काल पार्टीले विरोधका कार्यक्रम ल्याउनु पर्छ’, नेता सिंहले भने, ‘असंवैधानिक रूपमा संसद् विघटन भएकाले पार्टीले आन्दोलनमा जान ढिलाइ गर्नु हुन्न।’

सिंहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाँदै गर्दा पार्टी महाधिवेशन पनि चाँडो हुनु पर्ने माग गरे। उनले जनताले पार्टीको नेतृत्व बदल्न पनि सुझाव दिएको धारणा राख्नेबित्तिकै सभापति शेरबहादुर देउवा आक्रोशित भएका थिए। नेता सिंह र सभापति देउवाबीच केही बेर सवालजवाफ चलेको थियो।

उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको अपरिहार्यतामा जोड दिएका थिए। तर, निधिले सडक संघर्षबाट प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना भने न्यून रहेको धारणा व्यक्त गरेका थिए। करिब सवा घण्टा बोलेका निधिले तीन विकल्प सुझाएका थिए। ‘कुनै पनि हालतमा संसद् चाहिन्छ। संसद् भएन भने मुलुकमा लोकतन्त्र रहन सक्दैन’, उनले भने, ‘यसका लागि सडक आन्दोलनबाट संसद्को पुनःस्थापना, दोस्रो निर्वाचनबाट संसद् र तेस्रो सर्वोच्च अदालतको फैसला।’

उनले ०६२र६३ सालको जनआन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश फरक रहेको उल्लेख गर्दै अहिले सडकबाट पुनःस्थापनाको सम्भावनालाई इन्कार गरे। उनले भने, ‘अब सर्वोच्च अदालतको फैसला कुरौं। अदालतले सरकारको कदमलाई बदर गरे स्वागत गरौं। नत्र निर्वाचनको सुनिश्चितता गरौं।’

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सरकारको कदमविरुद्ध उभिनुपर्ने समय आएको बताए। ‘लोकतन्त्र र संविधान रक्षाका लागि आन्दोलनमा जानु पर्छ। र, आन्दोलनलाई चुनावको तयारीको रूपमा अगाडि बढाउनु पर्छ’, केसीले भने। उनले आन्दोलनसँगै निर्वाचनको तयारीमा पनि सँगै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनले पछिल्लो घटनाक्रमले पार्टीको महाधिवेशन प्रभावित हुन सक्ने आशंका गरे। उनले अघिल्लो महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट फागुनमै विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे। ‘एकातिर सरकारविरुद्ध संघर्षमा जानु छ भने अर्कोतिर पार्टीको महाधिवेशन गर्नुपर्ने पनि बाध्यता हामीलाई छ,’ उनले भने, यसका लागि १३ औं महाधिवेशनकै प्रतिनिधिबाटै महाधिवेशन गराऔं। त्यो तदर्थ अधिवेशन हुन्छ। यसको एक,दुई वर्षपछि नियमित महाधिवेशन गरौं।’

केसीले विशेष महाधिवेशन प्रस्ताव गर्दा देउवा झोक्किएका थिए। ‘फागुनमै महाधिवेशन हुन्छ, फागुनमै हुन्छ’, देउवाले भने।

बैठकमा तीन दिनसम्म जम्मा ११ जना केन्द्रीय सदस्यले बोलेका छन्। पहिलो दिन वरिष्ठ नेता पौडेलसहित चार नेताले सरकारको कदम र कांग्रेसको आगामी रणनीतिबारे धारणा राखेका थिए। दोस्रो दिन बुधबार पनि चार जनाले मात्रै बोले। बिहीबार जम्मा तीन नेताले मात्रै धारणा राखेको कांग्रेसले जनाएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा बोल्न नाम टिपाएका नेताको संख्या २५ भन्दा बढी छ।अन्नपूर्णबाट

Next Post

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री बनाउन कांग्रेसको समर्थन अनिवार्य चाहिने

१० पुष २०७७, शुक्रबार ०९:२७
काठमाडौं :सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आफ्नै पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि बागमतीमा नयाँ सरकार गठनबारे चर्चा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि स्पष्ट दुई खेमामा […]