
कालीकोट । प्रहरी मेरो साथी भन्ने नेपाल प्रहरीको नारालाई ग्रामिण क्षेत्रमा पुगाउन सुरु गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालीकोटका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीले नागरिकलाई कानुनका विषयमा जानकारी गर्ने अभियान थालेका छन् । नेपालको संविधानमा भएका व्यवस्थादेखि मुलुकी संहिता २०७४, देवानी संहिता र विभिन्न कानुनी कुरा नागरिकलाई जानकारी दिन प्रहरीहरु खटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेकवहादुर रावतले प्रहरी मेरो साथी अन्तर्गतकै अभियानलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत नागरिकसंग अन्तरक्रिया गर्न सुरु गरिएको बताए । जिल्लाभरी रहेका मातहतका प्रहरी चौकीलाई सचेत गर्न कार्यक्रम गर्न निर्देशन दिएको बताए ।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र शुभकालीकोट गाउँपालिकामा यस्ता कार्यक्रम जारी रहेको र अन्य स्थानीय तहमा पनि समय व्यवस्थापनका विषयमा स्थानीय सरकार र विद्यालयसँग समन्वय भइरहेको बताए । विद्यालयमा लागु औषध प्रयोगका जटिल्ता, प्रयोगले स्वास्थ्यमा पार्ने असरसँगै कानुनी कारबाहीका विषयमा सचेतीकरण गर्ने काम हुन्छ भने आम नागरिकलाई नेपालको मुल कानुन संविधानमा भएको व्यवस्था, प्रहरी गर्ने काम र गल्ती गर्दा कस्तो कारबाही हुन्छ भनेर जानकारी दिने काम भइरहेको प्रहरीले जनाएको छ ।


