काठमाडौं :प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच संखुवासभामा गोली हानाहान भएको छ ।विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बतायो ।प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।
सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको थियो ।
प्रहरी टोली घरमा छिर्ने बित्तिकै बाहिरबाट समूहका कार्यकर्ताले गोली चलाएको स्रोतको भनाइ छ । त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन् ।
मैदानेमा केही महिना अघिबाटै विप्लव समूहका नेता, कार्यकर्ता देखिने गरेका थिए । यसअघि त्यही आसपासकै क्षेत्रमा पनि प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोलीहानाहान भएको थियो ।