पञ्चपुरी नगरपालिकामा बालविवाह र लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम

कर्णाली दृष्टि संवाददाता २ माघ २०८२, बिहीबार २०:२७

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा बालविवाह तथा लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर–६ को आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट अन्तर्गत मंगलबार बालविवाह तथा लागू पदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जानकारी दिएको छ । समुदायमा पछिल्लो समय बालविवाहले लिँदै गएको विकराल अवस्था र लागू पदार्थ दुर्व्यसनले समाजमा पारिरहेको नकारात्मक प्रभावबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यबाहक वडाध्यक्ष कर्णबहादुर तारामीले बालबालिकाले यस्ता सामाजिक विकृतिहरू न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले उनीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले वडाले हरेक वर्ष यस्ता जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले चेतनास्तर अभिवृद्धिबाट मात्रै मानव जीवन र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउँदै आगामी दिनमा बालविवाहमुक्त तथा दुर्व्यसनमुक्त वडा निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समुदायको साथ र सहयोग प्राप्त भएमा वडालाई उदाहरणीय बनाउन सकिने उहाँको भनाइ थियो । कार्यक्रमका मुख्य प्रशिक्षक उमाशंकर आचार्यले बालविवाह र लागू पदार्थ दुर्व्यसनका कारण, प्रभाव र न्यूनीकरणका उपायबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वडा कार्यालयका कर्मचारी प्रेम सुनारले गर्नुभएको थियो ।

कार्यक्रम वडा नम्बर–६ का कार्यबाहक वडाध्यक्ष तारामीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गौरीशंकर प्राथमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयका करिब ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरू बुद्धिप्रसाद सापकोटा, कमला पाठक, धर्मराज खनाल, नवीन सार्की तथा वडा सदस्य मनबहादुर बरै लगायतको उपस्थिति रहेको थियो ।

Next Post

भैरबी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सम्पन्न

२ माघ २०८२, बिहीबार २०:२७
दैलेख। भैरबी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन तथा हिउँदे गाउँसभा बिहीबार सम्पन्न भएको छ। यस अधिवेशनले अघिल्लो १७ औँ गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै आवश्यक संशोधनसहित महत्वपूर्ण विधेयकहरू पारित गरेको छ। पालिकाको १८ औँ अधिवेशनले विनियोजन विधेयक, आर्थिक कार्यविधि विधेयक लगायत विभिन्न योजना तथा कार्यक्रमहरू […]

सम्बन्धित समाचार