जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बुडाँडामा रहेको सौर्य मिनिग्रिड चार महिनादेखि मर्मत नहुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। चट्याङ लागेर मिनिग्रिडमा क्षति पुगेपछि विद्युत् सेवा चार महिनादेखि अवरुद्ध छ । स्थानीय बासिन्दाका अनुसार करिब पाँच सय घरधुरी विद्युत् बिना प्रभावित भएका छन् । विद्युत् अभावले दैनिक जीवन, विद्यार्थीको पढाइ, मोबाइल चार्ज र अन्य सेवा प्रवाहमा कठिनाइ सिर्जना गरेको छ ।
दुई सय किलोवाट क्षमताको सौर्य मिनिग्रिड २०७९ जेठ २५ गतेदेखि सञ्चालनमा आएको थियो। करिब १० करोड ९ लाख रुपैयाँ लागतमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा निर्माण भएको यस मिनिग्रिडले नेपाल टेलिकमको टावरमा समेत विद्युत् प्रदान गर्दै आएको थियो। गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार मिनिग्रिड हस्तान्तरणपछि मर्मतको जिम्मेवारी स्पष्ट नभएको कारण ढिलाइ भएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटले मन्त्रालयमा मर्मतका लागि पत्राचार गरिसकेको भए पनि विद्युत् सेवा अझै अवरुद्ध छ । स्थानीयवासीले लापरबाहीका कारण समस्या झन् जटिल बनेको गुनासो गर्दै, सरोकारवाला निकायले तत्काल ध्यान नदिँदा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।



