रुकुमपश्चिममा तीन करोड लगानीमा सर्जिकल आँखा उपचार केन्द्र भवन निर्माण सुरु

कर्णाली दृष्टि संवाददाता २६ पुष २०८२, शनिबार १०:१०

रुकुमपश्चिम । रुकुमपश्चिममा करिब तीन करोड रुपैयाँको लगानीमा सर्जिकल आँखा उपचार केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ। जिल्लाको मुसीकोट नगरपालिका–१, सल्लेमा निर्माण हुन लागेको उक्त भवनको बिहीबार राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य रोकायले आँखाको संवेदनशीलतालाई ध्यानमा राख्दै सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न भवन निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले तोकिएको समयभित्रै गुणस्तरीय ढंगले भवन निर्माण सम्पन्न गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । साथै, आँखा उपचार केन्द्रलाई क्रमशः पूर्ण आँखा अस्पतालका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रुकुम अस्पतालको सेवालाई स्वास्थ्य उपचारसँगै चिकित्सा शिक्षासँग जोड्नुपर्नेमा जोड दिनुभयो । यसका लागि प्रदेश सरकारले योजनाबद्ध रूपमा सम्भावनाका क्षेत्र पहिचान गरी काम अघि बढाउने उहाँको भनाइ थियो । प्रदेश मन्त्री भण्डारीले रुकुम जिल्लामा स्वास्थ्य, शिक्षा तथा अन्य पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा कर्णाली प्रदेशका सम्भावित स्थानहरूमा स्वास्थ्य शिक्षा सञ्चालन गरिने स्पष्ट पार्नुभयो। कार्यक्रममा प्रदेश सभा सदस्यद्वय मिलन खड्का र तुलसा मल्ल, मुसीकोट नगरप्रमुख महेन्द्र केसी, उपप्रमुख विमल कुमार पुनलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको दुई करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त भवन एक वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको छ। केन्द्रका प्रमुख धनबहादुर केसीका अनुसार तीन तले भवनमा १७ वटा कोठा रहनेछन् ।

Next Post

जनगणना–२०७८ मा खस भाषीको पहिचान स्पष्ट, बोल्नेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि

२६ पुष २०८२, शनिबार १०:१०
जुम्ला  । राष्ट्रिय जनगणना–२०७८ ले नेपालमा खस भाषा बोल्ने समुदायको स्पष्ट पहिचान गरिनुका साथै खस भाषीको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको देखाएको छ। यसपटक पहिलोपटक खस भाषीको छुट्टै तथ्याङ्क संकलन गरिँदा सङ्ख्या ह्वात्तै बढेको पाइएको हो । तथ्याङ्क समन्वय कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जनगणना–२०७८ मा नेपालभर खस भाषा बोल्नेको […]