जनगणना–२०७८ मा खस भाषीको पहिचान स्पष्ट, बोल्नेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि

कर्णाली दृष्टि संवाददाता २६ पुष २०८२, शनिबार १०:३२

जुम्ला  । राष्ट्रिय जनगणना–२०७८ ले नेपालमा खस भाषा बोल्ने समुदायको स्पष्ट पहिचान गरिनुका साथै खस भाषीको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको देखाएको छ। यसपटक पहिलोपटक खस भाषीको छुट्टै तथ्याङ्क संकलन गरिँदा सङ्ख्या ह्वात्तै बढेको पाइएको हो । तथ्याङ्क समन्वय कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जनगणना–२०७८ मा नेपालभर खस भाषा बोल्नेको सङ्ख्या एक लाख १७ हजार ५११ पुगेको छ। तीमध्ये सबैभन्दा बढी खस भाषी कर्णाली प्रदेशमा रहेका छन् । कार्यालयका अनुसार कर्णाली प्रदेशमा कुल एक लाख सात हजार ८४ जना खस भाषा बोल्ने रहेका छन्, जसमा ५३ हजार ८२६ महिला र ५३ हजार २५८ पुरुष छन् । प्रमुख धामीका अनुसार जनगणना–२०७८ मा देशभरका १२४ वटा मातृभाषा समेटिएका छन् । तीमध्ये खस भाषा बोल्नेको सङ्ख्या सबैभन्दा बढी जुम्ला जिल्लामा रहेको छ ।

जुम्ला नेपाली भाषाको उद्गमस्थलसमेत मानिन्छ। जनगणनाको तथ्याङ्कअनुसार कुल खस भाषीमध्ये जुम्लामा ६० हजार ५४२ जना अर्थात् ५१.२ प्रतिशत रहेका छन् । त्यसपछि कालीकोटमा ३८ हजार २३ जना (२६.२ प्रतिशत), मुगुमा ६.७ प्रतिशत र हुम्लामा ५.७ प्रतिशत खस भाषी रहेको देखिन्छ। यसअघि भएका जनगणनामा खस भाषा अलग्गै अभिलेख गरिएको थिएन। जनगणना–२०६८ मा कर्णाली प्रदेशमा खस भाषा बोल्ने व्यक्ति केवल ३४ जना मात्र देखाइएपछि व्यापक आलोचना भएको थियो। तर २०७८ को जनगणनामा भने मातृभाषा खस बोल्नेको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले पछिल्लो जनगणनामा खस भाषीको तथ्याङ्क बढ्नु सकारात्मक भएको बताउनुभयो। उहाँले कर्णालीका अधिकांश नागरिकले खस भाषा बोल्ने गरे पनि अघिल्ला जनगणनामा मातृभाषा खस टिपाउन छुटेको उल्लेख गर्दै अब सङ्ख्या सार्वजनिक भएपछि मातृभाषा संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अघिल्ला जनगणनामा खस भाषा नसमेटिएको विषयमा विभिन्न क्षेत्रबाट आवाज उठेपछि जनगणना–२०७८ मा खस भाषा समावेश गरिएको हो । आगामी जनगणनामा कर्णाली प्रदेशले मातृभाषा संरक्षणलाई अझ प्राथमिकतामा राख्नुपर्ने खत्रीको भनाइ छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पा जिल्लामा अधिकांश नागरिकले खस भाषा मातृभाषाका रूपमा बोल्ने गरे पनि कतिपय अवस्थामा जनगणनामा मातृभाषा टिपाउन छुटेको पाइएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा समेत खस भाषा बोल्ने समुदाय रहे पनि उनीहरूको तथ्याङ्क पूर्ण रूपमा अभिलेख हुन नसकेको तथ्याङ्क समन्वय कार्यालयका प्रमुख धामीले बताउनुभयो ।

Next Post

कर्णालीका ३२ स्थानीय तहमा बालविवाह अन्त्य रणनीति तयार

२६ पुष २०८२, शनिबार १०:३२
सुर्खेत  । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३२ वटा पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । प्रदेशमा देशकै उच्च दरमा बालविवाहका घटना देखिन थालेपछि बालविवाहविरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ती पालिकाहरूमा रणनीति निर्माण गरिएको हो । पछिल्ला तीन वर्षको अवधिमा यी रणनीतिहरू तयार भएका हुन् । सञ्जालकी वकालत […]