हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालनमा आएको छ । यसअघि केवल बोलेरो जिपमार्फत यात्रा गर्दा यात्रुहरूले बढी भाडा तिर्नुपर्ने बाध्यता थियो । तर बस सेवाको सुरु भएपछि भाडा निकै सस्तो भएको यात्रु धर्मराज रोकायाले जानकारी दिनुभयो । सिमकोटबाट नेपालगञ्जसम्म बसमा यात्रा गर्दा अब दुई दिनमा पाँच हजार पाँच सय रुपियाँ मात्र भाडा तिर्नुपर्ने छ । पहिले बोलेरो जिप रिजर्भ गर्दा पाँच यात्रुले साढे ५० हजार रुपियाँ तिर्नुपर्ने स्थिति थियो । हुम्ला हिल्सा यातायात प्रालिका अध्यक्ष विशाल रोकायाले भाडा निर्धारण प्रक्रिया पारदर्शी र समान्य भएको बताए। अब सिमकोटदेखि काठमाडौँसम्म प्रत्येक स्थानको निश्चित भाडा तय गरिएको छ, जसले यात्रुहरूलाई बढी शुल्क तिर्नबाट बचाएको छ ।
सिमकोटदेखि हुम्लाका विभिन्न स्थानसम्मको भाडा यसप्रकार छ: स्याम्ने १००, खार्पु २००, याङ्चु २५०, बोक्चे गौढा ३००, लालिबगर ३५०, सुनाखाडा ४००, रिप ६००, स्याल्तडी ८००, सर्केगार्ड १,०००, सलीसल्ला १,१५०, बाग्रेचौर १,२५०, खच्चा १,३००, तुम्च १,४००, मकै १,५००, गल्फागार्ड १,६५०, दोमुख १,८००, पैमा १,९५० र नेपालगञ्ज ५,५०० रुपियाँ । त्यस्तै, बाजुरा र कालीकोटका विभिन्न स्थानसम्म पनि निश्चित भाडा कायम गरिएको छ । सिमकोटदेखि काठमाडौँसम्मको भाडा सात हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ । हाल हुम्ला हिल्सा प्रालि र बटालीयन प्रालिले दैनिक एक–एक बस सञ्चालन गर्दै आएका छन् ।



