दैलेख । डुङ्गेश्वर गाउँपालिकामा फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा सञ्चालित “जलवायु परिवर्तनका लागि लक परियोजना” को प्रारम्भिक कार्यशाला गोष्ठि औपचारिक रूपमा सम्पन्न भएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई न्यूनीकरण गर्दै विशेषगरी खानेपानीका मुहान संरक्षण, वातावरणीय सन्तुलन र जल व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त परियोजना अघि बढाइएको हो ।
विभिन्न जिल्लामा लामो समयदेखि वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन र खानेपानीका मुहान संरक्षणका क्षेत्रमा काम गर्दै आएको (लक) कार्यक्रम अन्तर्गत दैलेख जिल्लाका ६ वटा स्थानीय तहमा यो परियोजना सञ्चालनमा रहेको छ । सोही कार्यक्रमअन्तर्गत डुङ्गेश्वर गाउँपालिकामा बढ्दो जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्ने तथा पानीका मुहान संरक्षणमार्फत स्थानीय जनजीवनलाई सहज बनाउने उद्देश्यले प्रारम्भिक कार्यशाला गोष्ठि आयोजना गरिएको हो ।
कार्यशालामा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, वातावरण संरक्षण तथा जल व्यवस्थापनका क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । गोष्ठि डुङ्गेश्वर गाउँपालिका, जलवायु परिवर्तनका लागि अनुकूलन कार्यक्रम लक परियोजना, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था तथा फिनल्याण्डको भू–वैज्ञानिक सर्वेक्षण संस्था को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
उक्त गाउँपालिका क्षेत्रभित्र रहेका पानीका मुहानहरूको पहिचान, संरक्षण तथा दिगो व्यवस्थापनका विषयमा गहन छलफल गरिएको थियो । साथै सुख्खा र खडेरीयुक्त भूभागमा पानीको दीर्घकालीन व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सर्वेक्षण, आवश्यक कार्यक्रम तथा रणनीति तय गर्ने विषयमा सहभागीहरूलाई समूहगत छलफलमा सहभागी गराइएको थियो । समूहगत छलफलपछि तयार पारिएको कार्ययोजना र निष्कर्षहरू प्रस्तुत समेत गरिएको थियो ।
कार्यशालाको अवसरमा बोल्दै डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालन भइरहेको परियोजनाले स्थानीय तहको आवश्यकता अनुसार व्यावहारिक र परिवर्तनशील कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले परियोजनामार्फत चुस्तदुरुस्त ढंगले काम भइरहेको उल्लेख गर्दै यसले स्थानीय स्तरमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताइन् ।
त्यसैगरी गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले लक परियोजनामार्फत गाउँपालिका भित्र रहेका पानीका मुहानहरूको पहिचान, भूगोलको नक्सांकन तथा वैज्ञानिक ढंगबाट जल व्यवस्थापनका कार्यक्रम अघि बढ्ने बताउनुभयो । अध्यक्ष केसीले परियोजना सफल बनाउन गाउँपालिकाले आवश्यक सहजीकरण, समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालित उक्त परियोजना अन्तर्गत आगामी दिनमा डुङ्गेश्वर गाउँपालिका भित्र स्थानीय नागरिकहरूको आवश्यकता र प्रत्यक्ष सरोकारसँग जोडिएका विभिन्न योजनाहरू सञ्चालन गरिने जनाइएको छ । परियोजनाबाट दीर्घकालीन रूपमा जलस्रोत संरक्षण, वातावरणीय सन्तुलन कायम गर्नुका साथै स्थानीय समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


