चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

कर्णालीदृष्टी संवाददाता १५ चैत्र २०७८, मंगलवार ०७:५३

काठमाण्डाै – प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने/ नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ ।

गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने/नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दैछ ।

शुक्रवारदेखि भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्ने वा चुनावमा एक्लै जाने विषयमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरेका छन् । धेरैजसो नेताले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले त्यही अनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुद हुने र आउँदाे संसदीय चुनावमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको उहाँले बताउनुभयो। यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा आवश्यक निर्णय हुने उहाँको भनाइ छ ।

यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरि एक्लै चुनावमा जाँदा राम्रो हुने सुझाव दिएका छन् । डाक्टर शेखर कोइराला पक्षले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ ।

Next Post

दैलेखको राकम कर्णालीमा -याफ्टिङ सेवा

१५ चैत्र २०७८, मंगलवार ०७:५३
  दैलेख । दैलेखको आठबिस नगरपालीका वडा नम्बर ४ राकम कर्णालीमा-याफ्टिङ सेवा सञ्चालनमा आएको छ । पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले राकम कर्णाली याफ्टिङ फर्मले आठबीस नगरपालिका संगको सहकार्यमा -याफ्टिङ सेवा संचालनमा ल्याएको फर्मका अध्यक्ष धन बहादूर माझीले बताउनुभयो । उहाँका अनुसार राकम कर्णालीमा गत बर्ष बैशाखदेखी नै -याफ्टिङ सेवा सूरु […]