सल्यान । सल्यानको कालीमाटी गाउँपालिकाले मानव बस्तीमा प्रवेश गरी निरन्तर मानवीय क्षति पुर्याइरहेको बाघलाई नियन्त्रण गर्न ‘बाघ मार्ने आदेश’ जारी गर्न माग गरेको छ । गाउँपालिकाले डिभिजन वन कार्यालय सल्यानलाई पत्राचार गर्दै बाघले स्थानीयको ज्यान लिने, घरपालुवा पशु मार्ने र नागरिकलाई असुरक्षित बनाएको उल्लेख गर्दै तत्काल आदेश जारी गर्न आग्रह गरेको हो ।
बाँके राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा पछिल्लो एक साताको अवधिमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर केसीका अनुसार पुस २३ गते कालीमाटीको सीमा क्षेत्रमा पर्ने सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीका ५७ वर्षीया गङ्गादेवी सारु मगरको बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसैगरी पुस २५ गते कालीमाटी गाउँपालिका–७ का ४२ वर्षीय धनसरी रावत र पुस २९ गते मङ्गलबार वडा नम्बर–६ हात्तीढुङ्गाका ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको पनि बाघको आक्रमणबाट ज्यान गएको हो ।
गाउँपालिकाले बाघको आक्रमणले मानव जीवनलाई गम्भीर जोखिममा पारेको, स्थानीय नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको तथा किसानका गोठमा प्रवेश गरी गाईवस्तु मार्ने घटनासमेत बढेको उल्लेख गरेको छ । यस अवस्थामा बाघलाई मार्ने वा अन्य सुरक्षित उपायमार्फत नियन्त्रण, स्थानान्तरण वा आवश्यक अन्तिम व्यवस्थासमेत गर्न सकिने गरी तत्काल आदेश जारी गर्न अनुरोध गरिएको छ । बाघको निरन्तर आक्रमणका कारण स्थानीय नागरिक त्रसित अवस्थामा बस्न बाध्य भएको र यसले राज्यको नागरिकको जीवन रक्षा गर्ने दायित्वमाथि प्रश्न उठाएको गाउँपालिकाको भनाइ छ । वन्यजन्तु संरक्षण आवश्यक भए पनि नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै दुवै पक्षबीच सन्तुलन कायम गर्नुपर्नेमा गाउँपालिकाले जोड दिएको छ ।
“जोखिमपूर्ण अवस्थालाई तत्काल नियन्त्रण नगरेमा थप मानवीय क्षति हुने प्रबल सम्भावना देखिन्छ । त्यसैले मानव बस्तीमा प्रवेश गरी पटक–पटक मानवीय क्षति पुर्याइरहेको उक्त बाघलाई नियन्त्रण गर्न अविलम्ब बाघ मार्ने आदेश जारी गरिदिन सिफारिससहित अनुरोध गरिएको छ,” अध्यक्ष केसीले वन कार्यालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । यस विषयमा डिभिजन वन कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ । यसअघि मङ्गलबार कालीमाटी गाउँपालिकाले विज्ञप्ति जारी गर्दै बाँके राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको निरन्तर आक्रमणका कारण निर्दोष नागरिकले अकालमा ज्यान गुमाउनु परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको थियो ।
वडा नम्बर ६ र ७ आसपास क्षेत्रमा वन्यजन्तु आरक्षण स्थापना भएयता बस्ती नजिकसम्म वन्यजन्तुको आवागमन बढ्दै गएको, आक्रमणका घटना दोहोरिँदै गएको र त्यसबाट मानवीय क्षति हुनु अत्यन्त गम्भीर विषय भएको गाउँपालिकाको निष्कर्ष छ । गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार तथा बाँके राष्ट्रिय निकुञ्जका सम्बन्धित निकायलाई वन्यजन्तु नियन्त्रण, सुरक्षित बस्ती व्यवस्थापन, प्रभावकारी सुरक्षा संयन्त्र स्थापना तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि माग गरेको छ । साथै वन्यजन्तु आक्रमणबाट जोगिन जङ्गल प्रवेश गर्दा सावधानी अपनाउन र सम्भव भएसम्म समूहमा मात्र आवतजावत गर्न नागरिकलाई अपिल गरिएको छ ।



