काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरूलाई आधिकारिकता नदिइए देशभर आन्दोलन चर्काउने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर पार्टी विधान र संविधानविपरीत निर्णय गरे वडा तहदेखि केन्द्रसम्म आन्दोलन गर्ने बताए । खड्काले पार्टीको केन्द्रीय कार्यसमितिबाहेक अन्य कुनै पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै संस्थापन पक्ष नै वैधानिक र आधिकारिक रहेको दाबी गरे । उनले भने, यदि पार्टीको विधान, संविधान, निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको मर्मविपरीत निर्वाचन आयोगले अन्यथा निर्णय गर्यो भने देशव्यापी आन्दोलन गर्नुबाहेक हाम्रो अर्को विकल्प हुँदैन । प्रत्येक ठाउँमा नेपाली कांग्रेसको चारतारे झण्डा र रुख लिएर हामी अघि बढ्नेछौँ ।
हालै पुसको अन्त्यतिर काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन भएपछि नेपाली कांग्रेस विभाजित बनेको छ । संस्थापन पक्ष र विशेष पक्षबीच पार्टीको वैधानिकताबारे विवाद चुलिँदै गएको छ । यद्यपि खड्काले निर्वाचन आयोगले संविधान र लोकतान्त्रिक मूल्यविपरीत निर्णय गर्ने विश्वास आफूहरूलाई नभएको पनि स्पष्ट पारे। उनले बाहिर आएका भ्रम, आशंका र अविश्वासका आधारमा मात्रै चेतावनी दिएको बताए ।



