काठमाण्डौ । अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ । समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ । पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ ।
यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन । के कारणले पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किन पुग्यो भन्नेबारे स्पष्ट नपारिएको बीबीसीले जनाएको छ ।
ताइवानको वायु रक्षा क्षेत्रमा हालै मात्र चिनियाँ सैनिकले सैन्य विमान परेड गरिरहेका बेला यो घटना बाहिर आएको हो । अमेरिकी नौसनाका प्रवक्ताले ठोक्किएको जहाज अमेरिकी रक्षा क्षेत्रतर्फ अघि बढिसकेको बताएका छन ।
घटनापछि पनडुब्बीमा कुनै ठूलो क्षति नभएको र आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको ती प्रवक्ताले बताएका छन । अमेरिकी सैनिकको यूएसएस कनेक्टिकट संसारकै सबैभन्दा बढी विवादित मानिने क्षेत्रमा परिचालित छ ।
चीनले आसपासका अधिकांश समुद्री क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएको छ । तर चीनका छिमेकी र अमेरिकाले चीनको दाबीलाई अस्वीकार गर्ने गरेका छन ।