
सल्यान । नागरिकको घरदैलोमै राहदानी पुर्याउने सेवाको औपचारिक सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय सल्यानबीच भएको सम्झौताअनुसार राहदानी तयार भइसकेपछि सेवाग्राहीको घरसम्म पुगेर वितरण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । नयाँ सेवासँगै नागरिकले राहदानी लिनका लागि पुनः जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रशासन कार्यालयका अनुसार यस व्यवस्थाले विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई समय, श्रम र खर्चको बचत हुने अपेक्षा गरिएको छ ।
सेवाको सुरुवातस्वरूप बनगाड कुपिण्डे नगरपालिका एकका डिल्लीबहादुर रावत र सन्तोषी रावतको राहदानी उनीहरूका आफन्तलाई घरमै पुगेर हस्तान्तरण गरिएको छ । यससँगै सल्यानमा घरदैलोमै राहदानी वितरण गर्ने सेवा औपचारिक रूपमा सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख २३ गते भएको सम्झौताअनुसार पहिलो चरणमा ६९ थान राहदानी जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण गरिएको छ । ती राहदानी सम्बन्धित स्थानीय तहका हुलाक कार्यालयमार्फत सेवाग्राहीसम्म पुर्याउने प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीका अनुसार कालिमाटी गाउँपालिकामा नौ बनगाड कुपिण्डे नगरपालिकामा सात कपुरकोट गाउँपालिकामा सात त्रिवेणी गाउँपालिकामा सात छत्रेश्वरी गाउँपालिकामा नौ बागचौर नगरपालिकामा १६, दार्मा गाउँपालिकामा तिन कुमाख गाउँपालिकामा एक सिद्धकुमाख गाउँपालिकामा पााच र शारदा नगरपालिकामा पाँच थान राहदानी पठाइएको छ । उनका अनुसार सम्बन्धित पालिकामा पठाइएका सबै राहदानी एक–दुई दिनभित्र सेवाग्राहीसम्म पुर्याइसक्ने तयारी गरिएको छ । वितरण प्रक्रियालाई प्रभावकारी बनाउन स्थानीय हुलाक कार्यालय तथा जनशक्तिलाई परिचालन गरिएको छ ।
नागरिकलाई घरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो व्यवस्था सेवामैत्री शासनको अभ्यासका रूपमा हेरिएको छ । स्थानीयवासीले पनि राहदानी वितरणको नयाँ व्यवस्थालाई स्वागत गरेका छन् । उनीहरूका अनुसार यसले सदरमुकामसम्म पुग्न लाग्ने समय, यातायात खर्च र अन्य झन्झट कम गर्नेछ। जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा पनि नागरिकलाई सहज, छिटो र पहुँचयोग्य सेवा उपलब्ध गराउन प्रविधिमैत्री तथा सेवामुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । राहदानी घरमै पुर्याउने सेवाले सरकारी सेवाप्रति नागरिकको विश्वास बढाउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


