डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, सुशासन र उपभोक्ता समितिको संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै दुई दिवसीय जल सम्मेलन सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजनामा तथा सुस्वा आयोजना सहयोग इकाइ जुफालको सहजीकरणमा सम्पन्न सम्मेलनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, जनप्रतिनिधि तथा नगरभित्रका ४२ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख जनचन्द्र रोकायाले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो विकासका लागि स्थानीय समुदायको सक्रियता आवश्यक रहेको बताए । उनले बाह्य साझेदार संस्थाहरूले सिकाउने उपायहरूको दीर्घकालीन प्रयोग र व्यवस्थापन समुदायमै निर्भर हुने भएकाले स्थानीय स्वामित्व अनिवार्य रहेको उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत राजु कुवाँरले दुर्गम हिमाली भौगोलिक अवस्थाका कारण आधारभूत सेवाको पहुँच विस्तार चुनौतीपूर्ण भए पनि “कोही पनि सेवाबाट वञ्चित नहोस्” भन्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको बताए ।
उनका अनुसार नगरभित्रका ४२ मध्ये २१ खानेपानी योजना निर्माण सम्पन्न भइसकेका छन् । उनले विकास साझेदार संस्थाहरू स्थायी रूपमा समुदायमा नरहने भएकाले संरचनाको संरक्षण, मर्मत सम्भार र दिगोपनाको मुख्य जिम्मेवारी उपभोक्ता समितिकै हुनेमा जोड दिए। साथै, आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणमा प्रमाणमा आधारित योजना छनोट, पारदर्शिता र समावेशितालाई प्राथमिकता दिइने जानकारी दिए । सुस्वा परियोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठले परियोजना आगामी आर्थिक वर्ष २०८३र०८४ मा बहिर्गमन चरणमा पुग्ने बताए ।
उनका अनुसार परियोजनाले संस्थागत क्षमता विकास, जलवायु–उत्थानशील खानेपानी संरचना सुधार तथा सरसफाइ र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गरिरहेको छ । त्यसैगरी, विज्ञ राम तिवारीले लैङ्गिक समानता, सामाजिक समावेशिता र अपाङ्गता भएका व्यक्तिको सहभागितालाई योजनादेखि कार्यान्वयनसम्म समेट्नुपर्ने दताए।
दुई दिनसम्म चलेको सम्मेलनमा खानेपानी योजनाको मर्मत सम्भार, वित्तीय व्यवस्थापन, सुशासन, सेवा शुल्क संकलन तथा संस्थागत क्षमता अभिवृद्धिबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले आफ्ना अनुभव, चुनौती र असल अभ्यासहरू पनि आदान–प्रदान गरेका थिए । सम्मेलनको समापनमा उपभोक्ता समितिहरूले नियमित मर्मत सम्भार, पारदर्शी वित्तीय व्यवस्थापन, प्रभावकारी महसुल संकलन र समन्वय सुदृढीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने तीन उपभोक्ता समितिहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।


