निर्मल माविमा विद्यार्थीलाई हलो जोत्ने देखी डोको बुन्ने सम्मको व्यावहारिक ज्ञान प्रदान

यस विद्यालयले विद्यार्थीलाई गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, ढिकी कुट्ने, मकै भुट्ने ,बाँसको डोको बुन्ने, भकारी बुन्ने र हलो जोत्नेल जस्ता सीप सिकाउछ

कर्णालीदृष्टि
चक्र प्रसाद पोख्रेल १० माघ २०७७, शनिबार १४:१७


तनहु :व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालयले नेपाली पम्परागत कला, सीप र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न थालेको छ । यस विद्यालयले विद्यार्थीलाई गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, ढिकी कुट्ने, मकै भुट्ने र हलो जोत्नेलगायतका सीप सिकाउन थालेको हो । विषयगत शिक्षाका अलवा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक शिक्षा प्रदान गरिएको शिक्षक लोकराज सेढाईंले बताए ।

संस्कृति र परम्परा लोप हुँदै जान थालेको अवस्थामा त्यसको संरक्षणका लागि विद्यार्थीलाई यस्ता सीपमूलक तालिम प्रदान गर्ने गरिएको उनले जानकारी दिए । सरकारको नमुना विद्यालयका रुपमा निर्मल माविले इन्टरनेशनल स्कुल अर्वाडसमेत प्राप्त गर्न सफल भएको छ ।

अवार्ड प्राप्त कार्यक्रमअन्तर्गत विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत संस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले बताए । ब्रिटिस काउन्सिल लाइबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालय पनि छनोटमा परेकाले विभिन्न सात आयोजनाको काम भइरहेको उनले बताए ।

विद्यार्थीलाई पाठ्यक्रममा निर्धारित विषयका अलवा ग्रामिण जीवनको मूल आधारका रुपमा रहेका सीप सिकाएर नेपाल र नेपालीपन चिनाउने सुनौलो अवसरका रुपमा पनि लिइएको विद्यालयका प्राधानाध्यापक गणेशचन्द्र बस्नेत बताए ।

विद्यालयले विगत दुई वर्षअघि सालको पातको टपरी बनाउने तालिम विद्यार्थीलाई प्रदान गरिएको र बाँसको डोको बुन्ने, भकारी बुन्नेजस्ता सीप पनि भविष्यमा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले छिटो र सजिलैसँग सिक्ने भएकाले ग्रामीण क्षेत्रबाट न्यून सङ्ख्यामा आएका विद्यार्थीले सीप जानेको भए पनि अधिकांशले नजान्ने भएकाले यस्ता सीपमूलक ज्ञान प्रदान गरिएको प्रशिक्षक तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सिर्जना तिवारीले जानकारी दिए ।

 

 

Next Post

कर्णाली युथ पावरले सुरु गर्यो आजदेखी सुर्खेतमा बृहत सरसफाइ कार्यक्रम

१० माघ २०७७, शनिबार १४:१७
सुर्खेत :कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली युथ पावरले बृहत सरसफाइ कार्यक्रम आजदेखी सुरु गरेको छ।कर्णालीका सबै जिल्लामा विस्तारै सुरु गरिदै लिने यो कार्यक्रम आज कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतबाट सुरु गरिएको हो । सनिवार यरी चोकखि राजाचोक सम्म कर्णाली युथ पावरले मेरो फोहोर मेरो जिम्मेवारी, सफा कर्णाली र हरियो कर्णाली […]