काठमाडौँ :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आजको प्रदेश सभा विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ ।गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुने भएको हो । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए ।
चालू संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो । आजको पहिलो बैठकमा अविश्वासको प्रस्ताव टेवुल हुँदैछ ।
मुख्यमन्त्री गुरुङको विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) सहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरे पनि प्रस्तावको समर्थन गरेको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई गरी २८ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ।