जूम्ला । मकै पाक्ने याम शुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन उनीहरु रातभर जाग्राम बस्ने गरेका हुन् । जुम्लाको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् ।
भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेको तिला–६ का स्थानीयवासी नरिमान रावतले बताउनुभयो । त्यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हँदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन् ।
भालु भगाउनका लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको छ । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने काम स्थानीयले गरिरहेका छन् । कहिलेकाहीं थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास गरिरहेको स्थानीयवासी बताउँछन् ।
पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जंगल नजिकैको बारीमा खेती गर्न समेत छाडेको स्थानीयवासी रावतले बताउनुभयो ।


