अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने क्रम जारी‚ आज दुई उडानबाट आउँदै

कृष्ण शर्मा ५ भाद्र २०७८, शनिबार ०८:३२

 

 

 

 

काठमाडौं – अफगानिस्तानबाट उद्धार गरिएका नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ। आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये थप केही आज स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए। शुक्रबार साँझसम्म ४७० जना स्वदेश फर्किएका छन्। शुक्रबार दुईवटा उडानबाट १७४ जना स्वदेश फर्केका हुन्।

काबुल छाडिसकेका करिब एक हजार जना नेपालीमध्ये ५३० जना स्वदेश फर्कने क्रममा विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा छन्। आगमनपछि अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ।

उनीहरूलाई स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको परराष्ट्रले जनाएको छ। शुक्रबार साँझसम्म ३१० जना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त विवरण तथा परराष्ट्रकै ‘सिचुएसन रुम’मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरेर सूची तयार गरिएको छ।

Next Post

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार!

५ भाद्र २०७८, शनिबार ०८:३२
  धनगढी – नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ। केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो। नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, […]