
संखुवासभा – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा हत्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उनले दिएका छन् ।
गत सोमबार उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती, श्रीमती ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो ।
हत्या आरोपमा पक्राउ परेको व्यक्ति कार्की परिवारकै आफन्त रहेको अनुसन्धानमा खुलेको छ । घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली खटिएको थियो।


