काठमाडौं । एएफसी महिला एसियन कपमा छनोट अन्र्तरगत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज फिलिपिन्ससँग खेल्दै छनोट यात्रा सुरु गर्दैछ ।
नेपालको महिला टिमले सन् २०१९ पछि पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल्दा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना खेल्नेछन् ।
२०१४ पछि पहिलो पटक नेपाली टिममा साम्बा छैनन् । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गराएकी उनी अहिले रिह्याबिलिटेसनमा छिन् । नेपाली टिमले साम्बालाई पक्कै मिस गर्नेछ ।
अर्को वर्ष भारतमा हुने एसियन कपकको छनोटमा नेपालले आफूभन्दा वरीयतामा माथि हरेका दुई टिम फिलिपिन्स र हङकङसँग खेल्नेछ । यस समूहमा शीर्ष स्थानमा रहने टिम एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाली टिमको लागि समूहको दुवै खेल महत्वपूर्ण छ ।
त्यसमा पनि पहिलो खेलमै आफूभन्दा बलियो टिमसँग प्रतिस्पर्धा गर्नु चुनौती छ ।
फरक परिस्थिति फरक स्थान र फरक रणनीतिका साथ नेपाली टिमले यस पटक खेल्दैछ । पहिलो पटक टिममा विदेशी प्रशिक्षक ग्यारी फिलिप्स छन् । फिफा वरीयतामा नेपालभन्दा फिलिपिन्स ३३ स्थान माथि छ । फिलिपिन्स ६८औं स्थानमा छ भने नपाल १०१औं स्थानमा छ । हङकङ ७६औं स्थानमा छ ।
नेपाली महिला टिमले अहिलेसम्म तीन पटक एसिया कप खेलेको छ । पछिल्लो पटक सन् १९९९ मा नेपालले एसिया कप खेलेको थियो । २२ वर्षपछि एसिया कपको छनोट खेल्न लाग्दा नेपाली टिम उत्साहित छ र छनोट हुने जोश र जाँगरका साथ मैदान उत्रदैँछ ।
नेपाली टिमका कप्तान रेनुका नगरकोटेले एसिया कपको छनोट खेल्न सबै जना उत्साहित रहेको बताएका छिन् । ‘टिममा सबै जना खेल्न उत्साहित छौं । एएफसी कपको छनोट अहिलेको टिमले पहिलो पटक खेल्न लागेको हो । त्यसैले खुशी पनि छौं सबै तयारी पूरा भइसकेको छ ।’ रेनुकाले खेलको अघिल्लो दिन भनिन् ।
उनले नेपालमा दुई महिनाको तयारी दुई मैत्रीपूर्ण खेलले पनि धेरै सहयोग पुगेको र टिमको अवस्थाबारे थाहा पाएको बताइन् । ‘दुई महिना नेपालमा तयारी ग¥यौं । दुई मैत्रीपूर्ण खेल पनि खेल्यौं । त्यसले पनि सहयोग गरेको छ,’ रेनुकाले भनिन् ।
उनले अघि भनिन्, ‘त्यसबाट हाम्रो कमी कमजोरी के थियो वा बलियो के थियो थाहा पाउन सहयोग भयो । हामी आफैं खेलेको भए थाहा पाउन सकिदेन्थ्यो । दुई खेल खेलेपछि तयारीमा मदद्त पुगेको छ । अब त्यहाँ भएका कमजोरी सुधार गर्ने र कसरी अगाडि बढेर र छनोट हुने भन्नेमै केन्द्रित छौं ।’