मुगू । मुगूको कार्मारोङ गाउँपालिकाकास्थित माथिल्ल्लो बस्तीका स्थानीय जडिबुटी टिप्न वनपाखातिर गएपछि जनगणना प्रभावित भएको छ ।
चितै, मुगु, डोल्फू, कार्ति, किम्री, महलगायत बस्तीका अधिकांस स्थानीय घरको ढोका नै बन्द गरेर कटुकी, भोल्ते, चिराइतो, वन लसुन कोर्न हिमाली भेगतिर उक्लिएपछि घरदैलोमा पुगेका गणकलाई घरधुरी संकलन गर्न गाह्रो भएको हो ।
गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय जडिबुटी संकलन गर्न वनतिर जाँदा जनगणना कार्य प्रभावित भएको जिल्ला जनगणना अधिकारी कृष्णप्रसाद चौलागाईंले बताउनुभयो। विशेष गरी मुगु गाउँका कोही स्थानीय घरमा नहुँदा गणकलाई विवरण संकलन गर्न कठिन भएको चौलागाईंले बताउनुभयो ।
भदौ ३० गतेदेखि जिल्लामा पहिलो चरणको जनगणना कार्य सुरु गरिएको छ । उक्त जनगणनाको निम्ति जिल्लाको चारवटा स्थानीय तहमा ५ महिला र १५ पुरुष गरी २० जना जनगणक परिचालन गरिएको जिल्ला जनगणनाको कार्यालय जनाएको छ ।