घुमन्ते राउटे समुदायलाई जंगलमै प्राथमिक उपचार तालिम

कर्णाली दृष्टि संवाददाता २४ पुष २०८२, बिहीबार ०९:१७

सुर्खेत ।  कर्णाली प्रदेशका पहाडी जिल्लाका जंगल तथा नदी किनारमा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायलाई चोटपटक लागेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा तालिम दिन थालिएको छ । जंगलमा घुमिरहने, बस्ती सर्ने, जंगली जनावरको सिकार गर्ने तथा मादक पदार्थ सेवनका कारण राउटे समुदायमा चोटपटक लाग्ने समस्या बढ्दै गएपछि सोसेक नेपाल दैलेखले नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशसँगको समन्वयमा उक्त तालिम सञ्चालन गरेको हो । हाल राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–७, पुल्टारमा बसोबास गरिरहेको छ । उनीहरूलाई सोही स्थानमा मङ्गलबारदेखि तीनदिने प्राथमिक उपचार तालिम दिइँदै छ । तालिममा १५ जना राउटे युवक–युवतीका साथै लेकबेँसी नगरपालिका र दैलेखको गुराँस गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको छ । पछिल्लो समय राउटे समुदायमा घाइते हुने क्रम बढ्दै गएको छ भने खानपानको समस्याका कारण बालबालिका तथा महिलाहरू बिरामी हुने गरेका छन् । घाइते वा बिरामी परेपछि तत्काल प्राथमिक उपचार गरी स्वास्थ्य संस्थासम्म लैजान सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिनुभयो । हाल कर्णाली प्रदेशमा राउटे समुदायको जनसंख्या १३३ रहेको छ । तीमध्ये अधिकांश पुरुष र बालकहरू कुनै न कुनै रूपमा चोटपटकबाट पीडित छन् ।

तालिममार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाएर उनीहरूले आफ्नै समुदायका अन्य सदस्यलाई पनि सिकाउन सकून् भन्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो । तीन दिनसम्म हातखुट्टा भाँचिएमा, मर्किएमा वा सामान्य चोटपटक लागेमा कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा अभ्याससहित प्रशिक्षण दिइने जनाइएको छ । विगतमा वनजडीबुटीबाहेक अन्य औषधि प्रयोग नगर्ने राउटे समुदाय पछिल्लो समय बिरामी परेमा उपचार खोज्न थालेपछि प्राथमिक उपचारबारे पनि जानकारी दिन आवश्यक भएको थापाले बताउनुभयो । यसैबीच, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले राउटेका लागि प्राथमिक उपचार तालिम अत्यन्त लाभदायक हुने बताउनुभयो । जंगलमा हिँड्दा र सिकार गर्ने क्रममा राउटेहरू घाइते हुने भएकाले यस्ता तालिमले उनीहरूको जीवन सहज बनाउने उहाँको भनाइ छ । साथै, राउटे समुदाय समाजतर्फ उन्मुख हुँदै गएकाले उनीहरूको परम्परागत संस्कृति र सम्पदालाई जोगाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई आफ्नो स्थायी बासिन्दा घोषणा गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटेहरूले आधुनिक उपचार पद्धति स्वीकार गर्न थालेकोमा खुसी व्यक्त गर्नुभयो । जंगलमा बस्दा दुर्घटना हुने भएकाले तालिमबाट सिकेको सीप समुदायका अन्य सदस्यलाई पनि सिकाउन उहाँले आग्रह गर्नुभयो । राउटे युवा दीपक शाहीले सिकार खेल्दा र बस्ती सर्ने क्रममा आफूहरू धेरैजसो घाइते हुने गरेको बताउनुभयो । तालिमबाट सिकेको ज्ञान अन्य सदस्यलाई पनि सिकाउने भन्दै प्राथमिक उपचारसम्बन्धी तालिम उपयोगी र रमाइलो लागेको उहाँको भनाइ छ ।

Next Post

मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजना अनुगमन

२४ पुष २०८२, बिहीबार ०९:१७
सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले भेरी पम्पिङ आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा हुने सम्भावित जनसङ्ख्या वृद्धिलाई ध्यानमा राखेर अघि बढाइएको उक्त आयोजनाको प्रगति अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले लक्ष्यअनुसार तीव्र गतिमा काम भइरहेकोमा सन्तोष व्यक्त गर्नुभयो । अनुगमनका क्रममा मुख्यमन्त्री कँडेलले आयोजनालाई निरन्तरता दिँदै निर्धारित […]