बर्षा र हिमपातका कारण देशभर चिसो बढ्यो, घरबाहिर निस्किन सकस

कर्णालीदृष्टी संवाददाता १४ पुष २०७८, बुधबार १६:३७

दैलेख । आज बुधवार दैलेख लगाएत देशभर मौसम बदली भइ धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा हिजो मङ्गलवार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दैलेखमा पनि गएरातिदेखि नै पानी परेको छ भने जिल्लाका उच्च भुभागहरुमा हिमपात समेत भएको छ । विभिन्न ठाउँमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँ–ठाउँमा सडक बन्दसमेत भएको हुँदा स्थानीयवासी तथा यात्रु मर्कामा परेका हुन् ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैबिच मंगलबार रातिदेखि हिमपात सहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापात भइरहेको छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन् तर हिमपातले जनजीवन भने प्रभावित भएको छ । वर्षाका कारण गहुँ र तरकारीलाई राहत भएको छ ।

उच्च भागमा भने लगातारको हिमपातका कारण जनजीवन कष्टकर भएको डोल्पा कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो। बिहानै घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायालाई खुवाउने आहारामै समस्या भएको छ ।

चिसो अत्यधिक बढेको ठाउँमा विद्यालय खुल्न मुश्किल हुने पालिकास्तरीय शिक्षा इकाइले बताएका छन् । नियमित पानी परेका कारण यातायात सेवा समेत प्रभावित भएको छ ।

Next Post

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो: कर्णलीमा ८ सय ३२ पदका लागि विज्ञापन

१४ पुष २०७८, बुधबार १६:३७
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने […]