सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्न विज्ञापन आह्वान गर्ने तयारी गरेको छ ।यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने तयारी भईरहेको हो ।
प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले भने, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यही आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ अहिले आन्तरिक तयारी भइरहेको उनको भनाइ छ । उनका अनुसार लोकसेवा आयोग ऐन संशोधनका लागि प्रदेशसभामा पठाइएको छ । ‘पहिलाको ऐनमा सानो कुराको पनि अनर्थ लाग्ने कुराहरु देखियो ।त्यसलाई सच्याउनका लागि हामीले प्रदेशसभामा ऐन पठाएका थियौँ । तर, अहिले सम्म पारित हुन सकेको छैन्’ अध्यक्ष उपाध्यायले भने ।
प्रदेशसभा अवरोधका कारण अध्यादेशबाट भएपनि लोकसेवा आयोग ऐन ल्याइदिनुपर्यो भनेर आफूहरुले मुख्यमन्त्रीलाई भनेको तर, अहिलेसम्म कुनै सुनुवाई नभएको उनको भनाइ छ। अहिले कर्णालीमा कति दरबन्दी खाली छ भन्ने तथ्याङ्क संकलनको काम करिब ५० प्रतिशतमा पुगेको उपाध्यायले बताए ।
प्रदेश लोकसेवा आयोग कार्यालयका शाखा अधिकृत प्रेम आचार्यले लोकसेवा आयोगले आन्तरिक तयारी थालिरहेको बताए । प्रदेश लोकसेवा आयोग ऐन पास भइ नसकेकाले केही काम गर्न अवरोध पनि भएको उनले बताए । उनले भने, ‘भर्ना प्रणालीको सफ्टवेयर तयार भएको छ । कुन स्थानीय तहका कति दरबन्दी रिक्त भन्ने विवरण संकलन गर्ने काम अघि बढिसकेको छ ।’
कर्णाली प्रदेशमा लोकसेवा आयोगले पूर्णता पाएपनि विज्ञापन आह्वान गर्ने काम हुन सकिरहेको छैन । गत फागुन महिनामा प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको थियो ।
अहिलेसम्म ७९ वटा स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको विवरण प्राप्त भएको छ । विवरण प्राप्त धेरै जसो स्थानीय तहहरुमा प्राविधिक जनशक्ति रिक्त रहेको आयोग कार्यालयका शाखा अधिकृत प्रेम आचार्यले बताए ।