दैलेख । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले जातीय विभेद र असमानता बिरुद्ध लड्न पीडितहरु आफै सशक्त आवाज उठाउन पर्ने बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीको भ्रातृसंगठन ‘नेपाल दलित मुक्ति संगठन’को आज दैलेखमा भएको जिल्ला स्तरीय भेलालाई सम्वोधन गर्दै उहाँले त्यस्तो सशक्त आवाज उठाउन मुक्ति संगठनले अगुवाई गरेको प्रष्ट्याउनुभयो ।
नेकपा एमालेभित्र मौलाएको अराजकता र व्यक्ति केन्द्रित राजनीतिक गतिविधिले त्यहाँ नेतृत्वले दलित समुदायमा माथि अन्याय र दमन गरिएको कारण प्रतिरोध गर्न छुट्टै पार्टी र दलित भ्रातृसंगठन निर्माण गरिएको साँसद बिशुन्केले बताउनुभयो ।
यस्तै नेकपा एकीकृतका केन्द्रीय सदस्य टेकबहादुर खाँणले जातीय विभेद लगायतका सामाजिक असमानता हटाउन गैरदलित समेतको सहयोग आवश्यक हुने उल्लेख गर्दै पार्टीले पूर्ण रुपमा साथ दिने बचन दिनुभयो ।
दलित अगुवा भेला कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु तर्कबहादुर शाही, सावित्री मल्ल, पार्टी जिल्ला अधयक्ष बरुनाथ योगी, ‘नेपाल दलित मुक्ति संगठन’का केन्द्रीय सदस्यहरु अमर सुनार, हर्कबहादुर नेपाली, खजुरा सुजी, मनकुमारी सुनार लगायतले बोल्नुभएको थियो ।
जिल्ला भेलाले गोपाल नेपालीको अध्यक्षतामा ‘नेपाल दलित मुक्ति संगठन’को एक सय तीन सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षद्वय दानबहादुर सुनार, अमृता नेपाली, सचिव कलम नेपाली र सहसचिव मनु सुनारलाई निर्विरोध चयन गरेको छ ।