हुम्लाको सिमकोट सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने तयारी अन्तिम चरणमा

कर्णालीदृष्टि संवाददाता ६ असार २०८२, शुक्रबार २३:२६

हुम्ला । हुम्ला खार्पुनाथको खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ ।

९९ प्रतिशत काम भइसकेको बेलिब्रिज जडान भएसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुने भएको हो । नेपाली सेनाका अनुसार बेलिब्रिज केही दिनभित्रै सञ्चालनमा आउनेछ । यससँगै सिमकोट–खार्पु मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । यससँगै कर्णाली प्रदेशको भौगोलिक जटिलता हटाउँदै आर्थिक विकासको गति थपिने अपेक्षा गरिएको छ । दुर्गम हुम्लाका स्थानीयवासी, व्यापार, स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब लामो दूरी पैदलयात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । सडक सञ्जाल नजोडिएको नेपालको अन्तिम सदरमुकाम सिमकोट अब राष्ट्रिय सञ्जालमा जोडिन लाग्दा स्थानीयवासीमा उत्साहको लहर फैलिएको छ ।

स्थानीय नेता, जनप्रतिनिधि, विकासप्रेमी नागरिक तथा व्यापारीहरुले यसलाई ‘हिमाली विकासको सुनौलो अवसर’ भन्दै स्वागत गरेका छन् । यो परियोजना सम्पन्न गर्न नेपाली सेना नं। १४ बाहिनी अड्डाअन्तर्गतको फौजको कमाण्ड गर्दै पहिलो चरणमा गत चैत्रबाट सेनानि रनजित बुढाथोकी नेपाली सेनाको इञ्जिनियर टोलीसहित खार्पु पुगेको थियो । अब केही दिनभित्रै खार्पु हुँदै बग्ने चुवाखोला–कर्णालीको मेटरी प्यानल ब्रिज सञ्चालनमा आएपछि सिमकोट सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा औपचारिकरूपमा जोडिने भएको छ ।

Next Post

शारदा नगरपालिकाको हालसम्मकै ठूलो बजेट, १ अर्ब १९ करोड पारित

६ असार २०८२, शुक्रबार २३:२६
सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँको बजेट पारित गरेको छ । दुई दिन सम्म सञ्चालन भएको नगरसभाको १७ औँ अधिवेशनले सर्वसम्मत रूपमा बजेट पारित गरेको हो । नगर उपप्रमुख सुस्मिता सापकोटाले सिमित स्रोत साधन, आन्तरिक आयको […]