सुर्खेत । कर्णालीका स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं खर्चबापत सवा ६ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
गत असार ५ गते पारित भएको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी ऐन’ मा स्थानीय तहका वडा सदस्यदेखि प्रमुखसम्मलाई चाडपर्व खर्चबापत १५ हजार रुपैयाँ दिइने उल्लेख छ ।
कर्णालीका ७९ स्थानीय तह र १० जिल्ला समन्वय समितिका प्रतिनीधिहरुका लागि ६ करोड २ लाख रुपैयाँ खर्च भएको छ । त्यहाँका स्थानिय तह जिल्ला समन्वय समितिमा ४ हजार १६ जना जनप्रतिनिधि रहेका छन् ।
कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये १८ जना सरकारमा मुख्यमन्त्रीरमन्त्री र प्रदेशसभाका पदाधिकारी रहेका छन् ।
ऐनअनुसार सबैभन्दा कम मासिक पारश्रमिक प्रदेशसभा सदस्यको ४५ हजार रुपैयाँ र सबैभन्दा बढी मुख्यमन्त्रीको ६० हजार ९ सय ६० रुपैयाँ रहेको छ ।
कानुनतः प्रदेश तहका जनप्रतिनिधिको लागि करिब २० लाख ५० हजार रुपैयाँ दसैं खर्चबापत गएको छ ।
यस हिसाबले कर्णाली प्रदेशमा रहेका स्थानीय तह र प्रदेश तहका ४ हजार ५६ जना जनप्रतिनिधिको लागि करिब ६ करोड २३ लाख रुपैयाँ खर्च भएको छ ।