काठमाण्डौ । नेकपा एमालेको अध्यक्ष पदमा दोस्रो पटक केपी शर्मा ओली विजयी हुनुभएको छ । एमालेको आज सम्पन्न दशौं महाधिबेशनबाट ओली अर्का प्रत्यासी भिम रावललाइ पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष ओलीले १८०८ मत पाउनुभएको छ भने अर्का प्रत्यासी रावलले २२३ मत प्राप्त गर्नुभएको छ ।
ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने गरि कोशिश गर्नुभएको भएपनि रावल पछाडी नहटेपछि चुनाब भएको हो । अघिल्लो नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई झिनो अन्तरले पराजित गर्नुभएका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गर्नुभएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेर चुनाब गर्नुपर्दा महाधिवेशन २ दिन लम्बिएको छ ।
नेतृत्व चयन गर्दै अस्ति महाधिवेशन सकिनुपर्ने भएपनि आज मात्रै सकिएको हो ।बरिष्ठ उपाध्यक्षमा भने इश्वर पोखरेल सर्वसम्मत हुनुभएको छ । उपाध्यक्षमा रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङ विजयी हुनुभएको छ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले खसेको मतमध्य सबैभन्दा धेरै १९७६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले भने ७२५ मत प्राप्त गर्नुभएको छ ।
उपमहासचिवमा भने प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिबमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल विजयी भएका छन् ।
बिष्टले १९७६ , भट्टराईले १९६४, विश्वकर्मा र अर्यालले समान १८०० मत पाएका छन् । यस्तै भट्टले १७०४, रायमाझीले १७०० र रघुवीरले १५१३ मत प्राप्त गरेका छन् । सचिब पदका प्रत्यासी आचार्यले १३०० र कार्कीले ५०० भोट ल्याएर पराजित हुनुभएको छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शौराहमा नै बस्ने भएको छ ।