अत्याधिक जाडो बढेपछि कर्णालीका हिमाली जिल्ला स्थित सीमा क्षेत्रका प्रहरी चौकी विस्थापित

कर्णालीदृष्टी संवाददाता १६ मंसिर २०७८, बिहीबार १६:३८

मुगु । अत्यधिक जाडो बढेपछि नेपाल र चीन सीमास्थित हुम्लाको लिमी, डोल्पाको थार्का र मुगुको मुगुगाउँस्थित प्रहरी चौकी विस्थापित भएका छन । हिमपातको मौसम सुरु भएपछि चौकीमा कार्यरत प्रहरीलाई हुम्ला सदरमुकाम सिमकोट र मुगु सदरमुकाम गमगढी बोलाइएको हो ।

चिसोका कारण आसपासका गाउँहरू सुनसान बनेपछि प्रहरी चौकी विस्थापित भएका हुन । जाडो कटाउन सीमावर्ती गाउँका बासिन्दा बेंसीतिर झरेका छन ।

सदरमुकाम आएका प्रहरीहरू गर्मी सुरु भएपछि चैत महिनामा मात्र चौकीमा फर्किने मुगुका डीएसपी सुवास हमालले बताउनुभयो  । उहाका अनुसार चिसो बढेपछि चौकीमा कार्यरत ११ प्रहरी सदरमुकाम आएका हुन ।

गाउँमा जताततै बरफ जमेकाले स्थानीयवासी पनि नभएपछि प्रहरीहरूलाई सदरमुकाम बोलाईएको उहाले बताउनुभयो । छिमेकी जिल्ला हुम्लाको लिमीमा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि दुई साताअघि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा २५ जनाको दरबन्दी रहेको लिमी प्रहरी चौकी चिसोका कारण करिब ५ महिनासम्म बन्द हुने गरेको छ । डोल्पाको तिब्बत सीमा क्षेत्रमा राखिएको थार्का प्रहरी चौकी पनि चिसो बढेपछि डेढ साताअघि सदरमुकाम दुनै सारिएको डोल्पाका डीएसपी निरञ्जन थापाले बताउनुभयो  ।

चीन सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न र राजस्व संकलन गर्न सरकारले स्थापना गरेका प्रहरी चौकीहरू चिसोका कारण बेमौसमी बनेका हुन । गर्मी सुरु भएपछि प्रहरीलाई फेरि गाउँमा पठाइने मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताउनुभयो ।

झन्डै ६ महिना सदरमुकाम र ६ महिना गाउँमा हुँदा सुरक्षा व्यवस्था भरपर्दो बन्न नसकेको स्थानीयको गुनासो छ । # ईकान्तीपूर

Next Post

कांग्रेस प्रदेश अधिबेशन : भूपेन्द्रजंग शाही पौडेल पक्षको उम्मेदवार, देउवा समूहले छान्न सकेन

१६ मंसिर २०७८, बिहीबार १६:३८
सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने पक्का भएको छ । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पौडेल समूहले प्रदेशको सभापतिमा युवा नेता भनेर चिनिएका शाहीलाई उम्मेदवार तय गरेको हो । पौडेल समूहले बिहीबार पत्रकार सम्मेलन गरी शाहीलाई प्रदेश सभापतिमा उठाउने जानकारी दिएको छ […]