कसूरदार मरेपछि पनि सजाय !

अमर सुनार १४ माघ २०७८, शुक्रबार ०७:१०

दैलेख । कर्तव्यज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्यूपछि पनि दैलेख जिल्ला अदालतले जन्मकैदको सजाय गरेको छ । साविकको लाकुरी गाविस हाल डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिकलाई हत्या गरेको कसूरमा अदालतले जीवित छँदा गरेको अपराधको भागीदार ठहर गरेको हो ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूरदार डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका जङ्गे भन्ने शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

न्यायाधीश लामिछानेले फैसलामा जीवित छँदा गरेको अपराधमा सजाय गर्नुपरे पनि ‘अपराधीको मृत्यूसंगै अपराध पनि मर्दछ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त अनुसार सजाय असुल गर्नु नपर्ने ठहर्ने व्याख्या गर्नुभएको छ ।

२१ वर्ष अघि २०५७ फागुन २६ गते बलात्कारपछि हत्या गरेको भन्ने आरोप सम्वन्धमा अघिल्लो वर्ष २०७७ पुस ३ गते जिल्ला अदालतमा दर्ता भएको अभियोग सम्वन्धमा मुद्दाको तहकीकात चलिरहेकै समयमा बिष्टको ७५ वर्षको उमेरमा २०७८ जेठ २८ गते मृत्यू थियो ।

घटनाको भोलिपल्टदेखि फरार भएका बिष्ट सिकिस्त बिरामी अवस्थामा २०७७ असोजदेखि सुर्खेतमा बस्तै आएका थिए । सुर्खेतमा छन् भन्ने जानकारी पाएपछि उमेरले बुढो र बिरामी पनि भएकोले प्रहरीले फरारको सूचीमा राखेर अनुसन्धान गरेको थियो ।

उनी पनि छिमेकी जिल्लामा बस्तै गरेका भन्ने जानकारी घटनाको २० वर्ष पुग्न लागेको कारण जनाउँदै प्रहरीले मुद्दा जगाएर बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकील कार्यालयले २०७७ पुस ३ गते जिल्ला अदालतमा कर्तव्यज्यान सम्वन्धी अभियोग दर्ता गराएको थियो ।

घटना हुँदा ५४ वर्ष उमेरका बिष्ट त्यस लगतै फरार रहेका, सधैं मदिरामा उन्मत्त रहने, महिलाहरुसंग जिस्किने स्वभाव भएका कारण बलात्कारपछि कसूरदारले बिष्टले नै मृतक डिलकुमारी बिकलाई हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चुप्रा बजारमा चामल किनेर घर फर्किने क्रममा साँझ पानी पिउन भनी बाटोमा पर्ने जङ्गे भन्ने शेरबहादुर बिष्टको घरमा केही बेला रोकिएकी डिलकुमारीलाई तीन दिनपछि बिष्टकै घर नजिक सेरा खोल्सामा खिरोको रुखमा नाम्लोले झुण्ड्याएको अवस्थामा फेला परेकोले बिष्टले नै हत्या गरेको भन्दै श्रीमान् जीतबहादुर बिकले प्रहरीमा जाहेरी दिएका थिए ।

हत्या गरिएको भनिएकी डिलकुमारी बिक उतिबेला २५ वर्षकी थिइन् । उनका ३ छोरा मध्ये उतिबेला ७ वर्षका अलिले २८ वर्ष पुगेका जेठो छोरा चन्दन बिक र त्यसबेला ४ वर्षको अहिले २५ वर्षका माइलो छोरा छबिलाल बिकले अहिले विवाहवारी गरी दुबैका एक–एक छोराछोरी छन् । त्यतिबेला डेढ वर्षको कान्छो छोरा राजु बिक आमाको हत्या घटनाको एक महिनापछि मृत्यू भएको थियो ।

प्रहरीले तत्परता नजनाएको कारण कसूरदारलाई जीवित छँदै पक्रेर सजाय गर्न नपाएको डिलकुमारीका श्रीमान् जीतबहादुर बिकको टिप्पणी छ । कसूर मरिसकेपछि पनि कैद सजाय भएको सुन्दा अदालतप्रति धन्यवाद दिनैप¥यो तर ऊ जीवित छँदै कैद भएको भए कति खुशी हुन्थ्यौं ? बुहारी राधा बिकले भन्नुभयो ।

अपराध हुँदाको कानून अनुसार सजाय गर्नुपर्ने कानून अभ्यास अनुसार मुलुकी ऐन २०२० अदलको १३ (३) अनुसार २० वर्ष कैद गरिए पनि मुलुकी ऐनको दफा १७६ बमोजिम फैसला नहुँदै अभियुक्तको मृत्यू भए सजाय भोगिरहन नपर्ने उल्लेख गरिएको छ ।

मुद्दाको तहकीकात चलिरहेको बेला कसूरदारको मृत्यू भएको अवस्थामा पनि जीवित छँदा गरेको अपराधको सजायको भागीदार हुनुपर्ने जाहेरवालाका तर्फबाट सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता रुक्मेडा पोखरेलले बहस गर्नुभएको थियो ।

Next Post

कांग्रेस बैठक आज बस्ने : चुनावबारे दुईथरी मत

१४ माघ २०७८, शुक्रबार ०७:१०
काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयले हिजो निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । तर संस्थापनइतर पक्षका नेताहरुले चुनावको विषयमा पनि कुरा उठाउने तयारी गरेका […]