कांग्रेस महाधिवेशन :सबै पदको मत गणना सकियोः दैलेखले पहिलोपटक पायो केन्द्रीय सदस्य

कर्णालीदृष्टी संवाददाता ९ पुष २०७८, शुक्रबार ०७:०३

काठमाण्डौ । नेपाली कांग्रेसको एक सय ३४ पदका लागि भएको चुनावको मत गणना सकिएको छ । खस÷आर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएसँगै एक सय ३४ पदका लागि भएको चुनावको सबै मत गणना सकिएको हो ।

बिहीवार बेलुका सम्पन्न मत गणनाअनुसार खस÷आर्य खुलातर्फ सात पदका लागि भएको चुनावमा केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित हुनुभएको छ । निर्वाचित हुने केन्द्रीय सदस्यमा मधु आचार्यबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् ।

त्यस्तै खस÷आर्य महिलातर्फ ६ जनाका लागि भएको चुनावमा मञ्जु खाण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी हुनुभएको छ ।

गौतम संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो भने बाँकी पाँच जना संस्थापन समूहबाट विजयी भएका हुन् ।

यस्तै आदिवासी जनजातितर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि चुनाव भएकोमा खुलातर्फ आठ र महिलातर्फ सात पदका लागि भएको चुनावमा १४ जना संस्थापन समूहका उम्मेदवार विजयी भएका छन् ।
खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका हुन् । टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुन् । बाँकी सात जना सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएका हुन् ।

त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीताकुमारी राना र सुशीला थिङ रहेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

दैलेखबाटै पहिलोपटक काँग्रेस केन्द्रीय सदस्यमा सिता राना निर्वाचित 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट दैलेखबाटै पहिलो पटक केन्द्रीय सदस्यमा सिता राना निर्वाचित हुनुभएको छ । इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य आदीबासी जनजाती महिलातर्फ राना निर्वाचित हुनुभएको हो ।

नेपाली काँग्रेसको हालै सम्पन्न महाधिवेशनबाट आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ चुनावी प्रतिश्पर्धामार्फत राना निर्वाचित हुनुभएको हो ।

आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी प्रतिश्पर्धामा थिए । रानाले एक हजार ८ सय २६ मतसहित जीत हात पार्नुभएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा निकट रानाको जीतले काँग्रेस दैलेखबाट पार्टी केन्द्रीय तहमा पहिलो पटक प्रतिनीधित्व भएको छ ।

Next Post

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

९ पुष २०७८, शुक्रबार ०७:०३
काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।  खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् […]